Logo

सङ्क्रमित सबै २३ जना मुम्बइबाट लुकीछिपी नेपाल प्रवेश गरेका थिए



काठमाडौँ, ३० वैशाख । प्रदेश ५ मा सोमबार मात्रै २३ जनामा नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमितको संख्या ५३ पुगेको छ ।

सोमबार कपिलवस्तुमा १६, रुपन्देहीमा ६ र बर्दियामा १ जना नयाँ सङ्क्रमित थपिएका हुन् । उनीहरु सबै भारतको मुम्बइ शहरबाट आएका र लुकीछिपी नेपाल प्रवेश गरेका थिए । तर, उनीहरूको यात्रा विवरण भने फरकफरक छ । कपिलवस्तुमा सोमबार १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सङ्क्रमितको संख्या २१ पुगेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण् पौडेलका अनुसार यसमध्ये बुद्धभूमि नगरपालिकाका ४ जना र यशोधरा गाउँपालिकाका १२ जना छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उनीहरू सबै भारतको मुम्बइ शहरबाट आएका थिए । भारतीय सीमासम्म रेल र मालबाहक ट्रकमा आएका थिए । त्यसपछि यशोधरा गाउपालिकामा रहेको मर्यादपूर नाकाबाट रातिको समयमा लुकेर स्वदेश छिरेका थिए । बुद्धभूमिका ४ जना नै घर नगई सिधै क्वारेन्टाइनमा आएका थिए । यशोधरा गाउपालिकाका सङ्क्रमित भने घरमा गएको घरमा २ देखि ३ दिन बसेको र स्थानीयले थाहा पाएपछि जनप्रतिनिधि हुँदै स्वास्थयकर्मीले क्वारेन्टाइनमा लगेका थिए । उनीहरू वैशाख २४ र २५ क्वारेनटाइनमा आएका हुन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्