Logo

सप्तरीका सङ्क्रमित युवक चितवनबाट हिँडेर घर पुगेका थिए



काठमाडौँ, ३० वैशाख । सप्तरीमा भेटिएको कोरोना सङ्क्रमित युवकलाई सोमबार नै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ तरही, हटेलका कोरोना सङ्क्रमित १८ वर्षीय युवकलाई अस्पताल भर्ना गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोनाको कुनै किसिमको लक्षण नदेखिएको उनले बताएका छन् । सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनको कोरोना पुष्टि भएको छ ।

पाँच दिनअघि गत २६ गते स्वास्थ्य कार्यालय सप्तरीले सो क्षेत्रको क्वारेन्टाइनमा समय अवधि पूरा गरेकोमध्ये स्याम्पलिङ्गको आधारमा उनको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको थियो । गत वैशाख ९ गते चितवनमा मजदुरी गर्ने उनीसहित १३ जना पैदल हिँडेर सप्तरी आइपुगेका उनीहरूलाई १७ दिन पातोस्थित चन्द्रकान्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको सो वार्डका अध्यक्ष प्रदीप साहले जानकारी दिएका छन् । क्वारेन्टाइनमा रहँदा पनि उनमा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन । क्वाराइन्टेनबाट गएराति उनी घर फर्किएका थिए ।

उनको कोरोना पोजेटिभ भेटिएपछि परिवारका सम्पूर्ण सदस्यको स्वाब सङ्कलन, कन्ट्याक्ट ट्रेसिङ्ग, यात्रा वृतान्तको लागि स्वास्थ्यकर्मी टोलीसहित जिल्ला सङ्कट व्यवस्थापन समितिको टोली पातो, तरही हटेल पुगेको छ । सो सम्बन्धमा जिल्ला सङ्कट व्यवस्थापन समितिको तत्कालै बसेको बैठकले कुनै निर्णय नगरेको भएपनि सङ्क्रमित बसेको क्वारेन्टाइन, घर, टोल बस्तीको वस्तुस्थिति अध्ययनपछि मात्र निर्णय लिने सहमतिपछि त्यसतर्फ समितिका पदाधिकारी गएकोे जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्