Logo

कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली सम्म हान्ने अधिकार



पर्सा, २ जेठ । कोरोना भाइरसका संक्रमित भागेपछि पर्सा जिल्लामा कठोर निर्णय लिइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली समेत चलाउन सक्ने अधिकार दिएको छ ।

बिहीबार बसेको पर्सा जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले गोली सम्म हान्ने निर्णय गरेको हो । निर्णयको बुँदा नं ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिने आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने ।’

प्रमुख जिला अधिकारी विष्णुकुमार कार्की अध्यक्ष रहेको सीसीएमसीले गरेको निर्णयमा नारायणी अस्पताल वीरगञ्ज पर्साका डा. मदन उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, पर्साको चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, एसपी गंगा पन्त, सशस्त्र प्रहरीका एसपी दिपेन्द्र कुँवर, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक कुमार खड्का र विशेष आमन्त्रित वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको हस्ताक्षर छ ।

बिहीबार नारायणी अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका दुई जना कोरोना संक्रमित शौचालय जाने बहानामा भागेपछि उक्त निर्णय गरिएको सीसीएमसी पर्साले जनाएको छ । उनीहरुलाई सुरक्षाकर्मीले नियन्त्रण समेत गरिसकेका छन् ।

संक्रमित भाग्न नदिन सुरक्षा शतर्कता बनाइएको छ । संक्रमण फैलन नदिन सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

कथंकदाचित् संक्रमित भागेर एलर्ट गरेर नभाग्न भन्दा पनि नमाने आवश्यक परेमा गोली हानेर समेत नियन्त्रण लिने अधिकार दिइएको हो ।



प्रतिक्रिया दिनुहोस्