Logo

विदेशमा दुःख : दुतावासले नहेरेपछि पशुलाई जस्तै दुव्र्यवहार (भिडियोसहित)



जेठ २, काठमाण्डौ । कोरोना भाइरसको महामारीले विश्वका विभिन्न देशमा रहेका नेपालीहरु अलपत्र परेका छन् । बिचल्लीमा परेकाहरुले नेपाल सरकारलाई स्वदेश फर्काइदिन माग गरिरहेका छन् । तर सरकारले यसको सुनुवाई गरेको छैन । यस्तै दर्दनाक कथा कुवेतमा रहेका सयौँ नेपालीहरुले भोगिरहेका छन् ।

कुवेतमा रहेका सयौँ नेपालीहरु नेपाल आउन चाहन्छन् । अहिले उनीहरुले गरिरहेको कामबाट पनि निकालेको छ । कोरोनाका जोखिमकाबीच कहाँ बस्ने भन्ने ठेगान छैन । नेपाल पठाउने भनेर आशा देखाएपछि सबै भेला भएर तयार भएको तर अहिले बिचल्ली बनाएको पीडितहरुले बताएका छन् । उनीहरुले नेपाल सरकारसँग बिन्त गर्दै जसरी भए पनि स्वदेश फर्काइदिन आग्रह गरेका छन् ।

उनीहरुसँग घर फर्किन नपाएको मात्रै पीडा होइन, त्यहाँको प्रहरीले पशुलाई जस्तै व्यवहार गरेको भन्दै विलौना गरिरहेका छन् । नेपाल फर्किन पाउँ भनेर त्यहाँ रहेको नेपाली दुतावासमा सम्पर्क गर्न खोज्दा पनि बेवास्ता गरेको यि चेलीहरु बताउँछन् । आफूहरु कोरोनाको जोखिममा पनि रहेकाले तत्काल नेपाल फर्किनुको विकल्प नभएको उनीहरु बताउँछन् ।

दुतावासले पहिला घर जाने व्यवस्था गरिदिन्छु भनेपछि काम छोडेर आएको त पछि दुतावासले सहयोग गर्नुको साँटो दुव्र्यवहार गरेको कतिपयको आरोप छ । सबैको एउटै आवाज छ हामी नेपाल फर्किन चाहन्छौँ । वृद्धवृद्धालाई सुरक्षित राख्नुपर्ने बेलामा उल्टै यातना दिइएको नेपाली चेलीहरु बताउँछन् ।

के यिनीहरु नेपाली नागरिक होइनन्, कि विदेशमा पसिना बगाउने नागरिकलाई नेपाल सरकारले जिम्मेवारी लिनुपर्दैन ? आफ्नै नागरिक विदेशमा रोइरहँदा सरकार कसरी खुशी हुन सक्छ ? यो प्रश्न मेरै सरकारलाई ।

Posted by Sashi Kala Nepal on Friday, 15 May 2020

हो, विदेशमा रहेका नेपालीहरु यतिबेला अनेकौँ समस्या झेलिरहेका छन् । तर उनीहरुका लागि सहयोग गर्न सरकार असफल देखिएको छ । विदेशमा रहेका करिब ५ लाख नेपाली युवाहरु स्वदेश फर्किन चाहन्छन्, तर सरकार कानमा तेल हालेर बसेको छ । ५ लाखमध्ये करिब साढेँ २ लाख युवाहरु तत्काल स्वदेश फर्किन चाहेका छन् ।

दक्षिण कोरिया, जापान, इरान, कतार, यूएई, मलेसिया, इजरायल, साउदी अरेबिया, कुवेत लगायतका देशमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपालीहरु प्रभावित भए सगैँ उनीहरु तत्काल स्वदेश फर्किन चाहेका हुन् । तर नेपाल सरकारले भने उनीहरुलाई नेपाल ल्याउन नसक्ने बताएको छ । विदेशबाट आउनेहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले तयारी र अध्ययन भने गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल बताउँछन् ।

सरकारले विदेशबाट फर्किन चाहने नेपालीका लागि उद्धार संयन्त्र बनाएको छ । तत्काल स्वदेश फर्किनेमा ठूलो संख्यामा वैदेशिक रोजागारीमा गएका र रोजगारी गुमेकाहरू छन् । त्यसैगरी, नियमित रूपमा स्वदेश आउन चाहेका तर हवाइ उडान बन्द भएर रोकिएकाको संख्या पनि धेरै छ । त्यसैगरी भीसा अवधि सकिएका, पर्यटकका रूपमा विदेश गएर अड्किकाहरूको अवस्था एकदमै दयनिय रहेको कुरा वैदेशिक रोजगार विभागलाई राम्रोसँग थाहा छ ।

विदेशमा रहेका नेपालीको अवस्थाबारे सरकार राम्रोसँग जानकार हुँदा हुँदै पनि उहीहरुलाई स्वदेश फर्काउन असफल भइरहेको छ । स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने क्षमतासमेत सरकारसँग छैन । त्यसैगरी नेपाल ल्याएपछि उनीहरुलाई रोजगार दिनुपर्ने ठूलो चुनौति पनि सरकारसँग छ । हो, यतिबेला समस्या धेरै छ, तर सरकारको अग्नि परिक्षा समस्या भएकै बेलो समाधान गर्न सक्छ कि सक्दैन भनेर हुने गर्दछ । समान्य अवस्थामा सरकार सफल भएको दावी त सजिलदो छ, तर ठूलो समस्या पर्दा निरिह हुनुलाई सफलता मान्न सकिदैन ।

भिडियोमा देखिएका नेपालीहरु झापा, चितवन, मोरङ, स्याङ्जा, सुनसरीलगायतका जिल्लाका नागरिक हुन् । करिब १ सय ५० जना जति नेपालीहरुले यसरी नेपाल सरकारसँग गुहार मागिरहेका छन् । सरकार विदेशमा रहेका नेपालीलाई उद्धार गर्ने विषयमा उदासिन बनिरहेको छ । यिनै विदेशमा रहेका नेपालीहरुको पसिनाले प्राप्त रेमिट्यान्सबाट चलेको देशको सरकारले यिनै मिहिनेती मनहरुको विलौना किन सुन्दैन ? सरकारको सहयोग र साथ दुःखका बेला नै हो चाहिने । सुखका बेला त सरकारलाई यिनै विदेशिएका नेपालीहरुले साथ दिएकै छन् नि । त्यसैले अब विदेशमा जुनसुकै कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकार गम्भीर बनोस् ।

(कुवेतबाट ज्योति पुरीको सहयोगमा शशी नेपाल र लक्ष्मी विकले तयार पारेको सामग्री)



प्रतिक्रिया दिनुहोस्