Logo

कोभिड १९ बाट पहिलो मृत्यु सबैको मुख्य समाचार



काठमाडौं, ४ जेठ । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एकजना सुत्केरी महिलाको मृत्यु भएको पुष्टि आजको पत्रपत्रिका देखि रेडियोका मुख्य समाचार छन् । सबै पत्रपत्रिकाले यसलाई मुख्य समाचार बनाएका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे राम्चे घर भएकी २९ वर्षीया महिलाको २ जेठको राति मृत्यु भएकोमा कोभिड १९ को परीक्षणबाट हिजो संक्रमण पुष्टि भएको हो । उनको हिजो नै पशुपति आर्यघाटमा कोभिड १९ को शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार दाहसंस्कार भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पहिलोपटक देशमा कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको छ । देशमा २८१ जना संक्रमित पत्ता लाग्दा पहिलोपटक कोभिड १९ बाट मृत्यु भएको हो ।

मृतक महिला धुलिखेल अस्पतालमा आकस्मिक उपचारका लागि लगिएकामा मृत घोषित गरिएकी थिइन् । उनको बाटोमै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए ।

महिलाको मृत्यु हुँदा सुत्केरी भएको ११ दिन पुगेको थयो । उनले २४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा शिशुलाई नर्मल रुपमा जन्म दिई भोलिपल्ट डिस्चार्ज भएको डा. देवकोटाले जानकारी दिए । २३ वैशाखमा अस्पताल भर्ना भएकी थिइन् । डिस्चार्जपछि सिन्धुपाल्चोकस्थित घर लगिएकी उनलाई केही दिन देखि ज्वरो आएको थियो ।

महिला शुरुमा धामीझाँकीकोमा पुगेको समेत खुलेको छ । त्यसपछि पनि ठिक नभएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दै आएकी उनको स्वास प्रश्वासमा समेत समस्या देखिएपछि आकस्मिक रुपमा अस्पताल लगिएकी थिइन् ।

यसैगरी, महिलाको घर र माइती दुवै क्षेत्रमा सुरक्षाकर्मीले शिल्ड गरेको छ । त्यहाँ ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको बुझिएको छ । अहिले राम्चे क्षेत्रमा त्रास बढेको छ ।

महिलाको उपचारमा संलग्न देखि सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखी स्वाब परीक्षण शुरु गरिएको छ । सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्