काठमाडौँ, ५ जेठ । नेपाल भारत सीमानाका जोडिएको प्रदेश नं.५ को व्यापारिक केन्द्र सीमानाकामा भारतबाट नेपाली फर्किने क्रम बढेपछि स्थानीय पालिकाले क्वारेन्टिन निर्माणमा वृद्धि गरेका छन् ।
बाँके जिल्लामा अहिले ४१ क्वारेन्टिन पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । जिल्लामा हाल एक हजार १२६ जना क्वारेन्टिनमा बसिरहेका छन् तिनमा एक हजार ७३ पुरुष र ५३ महिला छन् । नरैनापुर गाउँपालिकामा ११ क्वारेन्टिन बनाइएको छ । त्यहाँ ६६ जना बसिरहेका छन् । यो पालिकामा अहिलेसम्म आठ कोरोना संक्रमित फेला परिसकेका छन् । क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भइसकेको छ ।
डुडुवा गाउँपालिकामा पाँच क्वारेन्टिन बनाइएको छ । त्यहाँ १६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सातसात क्वारेन्टाइन छन् । खजुरामा २४ र बैजनाथमा ३० जना क्वारेन्टाइनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा ११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टिनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिन २३ र नेपाली सेनाले बनाएको एक क्वारेन्टिनमा ७४ जना र राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टाइनमा ३९ जना रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् । (गोरखापत्रबाट)