Logo

दश स्वास्थ्यकर्मीको स्वाब परीक्षणमाः संक्रमितको गाउँपालिका बन्द



काठमाडौँ, ६ जेठ । अर्घाखाँचीको छाया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ ।

कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि उक्त पोलिक्लिनिक बन्द गरी उपचार, प्रयोगशाला र औषधालयमा संलग्न स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताएका छन् ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनले वैशाख ३१ गते करीब ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारका लागि सन्धिखर्कको छाया पोलिक्लिनिकमा स्वास्थ्य परीक्षण गराएका थिए । पोलिक्लिनिकले उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि अन्यत्र जान सिफारिस गरेपछि उनलाई थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताएका छन् । क्रिमसन अस्पताल भर्ना भएको दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्