Logo

मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा सङ्कलनमा रोक



काठमाडौँ, ७ जेठ । सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक लगाइएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलन थालेको र यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिएका छन् । मकालु बरुण राष्ट्रिय निकुञ्जले गत वर्ष जेठ १५ गतेदेखि असार १३ यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिएको थियो ।

भीडभाडमा यार्सा सङ्कलनमा हुने भएका कारण कोरोना सङ्क्रमणको जोखिम उच्च हुने देखिएपछि रोक लागाइएको सूचना अधिकारी पाठकले बताएका छन् । निकुञ्जको सूचनाविपरीत यार्सागुम्बा सङ्कलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को २०३० बमोजिम कारवाही हुने बताइएको छ ।

यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु बरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ । सङ्कलन गरेको यार्सागुम्बा बिक्री गरेर स्थानीयवासीले वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने खर्च जुटाउने गरेको स्थानीयवासीको भनाइ छ । (रासस)



प्रतिक्रिया दिनुहोस्