काठमाडौँ, ८ जेठ । नुवाकोट त्रिशूली जिल्ला अस्पतालमा कार्यरत सातजना कर्मचारीसहित आठ जनामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ ।
१६८ जनामा ¥यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा आठजनामा कोरोना पोजेटिभ देखिएको हो । आरडीटी टेस्ट गर्दा आठजनामा शङ्कास्पद नतिजा देखिएको जिल्ला अस्पताल त्रिशूलीले जानकारी दिएको छ । आरडीटी टेस्ट पोजेटिभ देखिएकामध्ये एकजना त्रिशूली अस्पतालको आइसोलेसन वार्डमा रहेका बिरामी र बाँकी अस्पतालका कर्मचारी रहेको त्रिशूली अस्पताल नुवाकोटका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले जानकारी दिएका छन् ।
उनका अनुसार अस्पतालमा कार्यरत कर्मचारीमध्ये एक सुरक्षाकर्मी, दुई स्वास्थ्यकर्मी र अन्य एम्बुलेन्स चालकहरू छन् । उनीहरूको स्वाब सङ्कलन गरी काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला अस्पताल त्रिशूलीले जानकारी दिएको छ । आरडीटीमा पोजेटिभ देखिए तापनि पीसीआरबाट प्रयोगशालामा नेगेटिभ देखिनसक्ने चिकित्सहरूले बताएका छन । नमुना सङ्कलन गरिएकाहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । (गोरखापत्रबाट)