Logo

वडा वडामा क्वारेन्टाइन आवश्यक



काठमाडौँ, १२ जेठ । कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहे पनि त्यस अनुरूप स्थानीय तहमा क्वारेन्टाइन बन्न सकेका छैनन् ।

सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा थपिएको चुनौतीसँगै वडा वडामा क्वारेन्टाइन आवश्यक भएको छ । विदेशबाट तत्काल ल्याउन लागेका झन्डै चार लाखभन्दा बढी नेपालीलाई अझै धेरै क्वारेन्टाइन आवश्यक पर्ने भए पनि त्यस अनुरूपको तयारी भएको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक स्थानीय तहका वडामा क्वारेन्टाइनको सङ्ख्या अत्यावश्यक भएको स्पष्ट पारेको छ ।

सरकारले क्वारेन्टाइन निर्माणको मापदण्ड तयार गरेको र सोही मापदण्डका आधारमा स्थानीय तहका वडामा क्वारेन्टाइन निर्माण गर्नुको विकल्प नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले स्थानीय तहका वडामा निर्माण हुने क्वारेन्टाइनमा आवश्यक समन्वय प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिले गर्नुपर्ने बताएका छन् ।

उनले यही गतिमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने केही समयपछि स्थिति अझै जटिल हुन सक्छ, त्यसको पूर्व तयारी गर्न अहिलेदेखि नै वडा तहमा क्वारेन्टाइन निर्माण गर्नुपर्छ भनेका छन् । उनका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिको कोषमा पर्याप्त बजेट छ । उक्त बजेट खर्च हुन सकेको छैन । सोही बजेट र स्थानीय तहको पनि लागत साझेदारीमा स्थानीय तहको वडामा क्वारेन्टाइन निर्माण गर्न सकिन्छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्