Logo

धापाखेलमा मानव सेवा आश्रम



काठमाडौँ, १३ जेठ । ललितपुर महानगरपालिका–२४ धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ ।

कोरोना भाइरसका कारण आउँदा दिनमा सडकमा आउने मानिसको सङ्ख्या वृद्धि हुने अनुमानसहित उक्त भवन शिलान्यास गरिएको हो । ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका सदस्य पम्फा भुसाल र महानगरपालिकाका उपप्रमुख गीता सत्यालले सोमबार संयुक्तरूपमा भवनको शिलान्यास गरेका छन् । यस चालू आर्थिक वर्षमा सांसद विकास कोषबाट आश्रम निर्माणका लागि रु १० लाख विनियोजन भएको भुषालले बताएका छन् । उपप्रमुख सत्यालले आश्रम निर्माणमा महानगरपालिकाले साथ र समर्थन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सेवा आश्रम ललितपुरका केन्द्रीय उपाध्यक्ष धर्मप्रसाद पौडेलले आश्रमको भवन आधुनिक, सुविधासम्पन्न, छकोठे र दुई तलाको निर्माण हुने जानकारी दिएका छन् । उनले भने, “फलामको पिलरमाथि चार भित्तामा सिमेन्ट बोर्ड प्रयोग गरी एक हजार ८०० स्कवायर फिट क्षेत्रफलमा भवन निर्माण गर्न लागेका छौँ। यो भवन भूकम्प प्रतिरोधात्मक क्षमताको हुनेछ । ललितुरमा देखिने अनाथ, बेसहारा, परिचयविहीन, मनोरोगीलाई ध्यानमा राखी आश्रमको भवन निर्माण गर्न लागेका हौँ ।” आश्रम निर्माणमा रु ५० लाख खर्च हुने अनुमान गरिएको पौडेलले जानकारी दिएका छन् ।

केही वर्षअघिदेखि महानगरपालिका–२३ हात्तीवनमा आश्रमको शाखा रहेको हुँदा अब बन्ने भवन भने उपशाखाका रूपमा प्रयोग हुनेछ । “नेपालको १४ जिल्लाभर १८ स्थानमा आश्रम खोलिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा ३७०–८० मानिसले आश्रमबाट सेवा लिइरहेका छन्”, पौडेलले थपे । हात्तीवन आश्रममा नौ जनाका टोली २४ घण्टा खटिने गरेको पौडेलको भनाइ छ । (रासस)



प्रतिक्रिया दिनुहोस्