काठमाडौँ, १३ जेठ । स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टिन झारा टार्ने खालका मात्र भएका छन् । स्थानीय स्कूल भवन देखाएर मात्रै क्वारेन्टिन भन्ने गरेको पाइएको छ ।
जिल्लाका स्थानीय तहहरुमा एक वडा एक क्वारेन्टिन बनाउने निर्णय भएको छ । सात स्थानीय तहमा ९८ वडा छन् । माडी नगरपालिकाले वडा सङ्ख्याभन्दा दुई बढी क्वारेन्टिन बनाएको भए पनि कतिपयले एउटा वडामा एउटा क्वारेन्टिन बनाउन सकेका छैनन् ।
भरतपुर महानगरपालिका–२८ का वडाध्यक्ष आसबहादुर कुमालले स्थानीय सरस्वती माविलाई क्वारेन्टिन बनाएको बताएका छन् । आफ्नै घरबाट गुन्द्री, कम्मल, झुल, तन्ना ल्याउन भनिएको उनको भनाइ छ । खाना पनि घरबाटै ल्याउन लगाइएको छ । क्वारेन्टिनमा हाल आठ जना छन् । दुई बाटोमा आउँदै गरेको र चार सुनौलमा आइसकेको उनले जानकारी दिएका छन् । स्कूलका बेञ्च जोडेर सुत्न उनीहरु बाध्य छन् । जिल्लाका कतिपय वडाहरुको अवस्था पनि यस्तै रहेको पाइएको छ ।
भरतपुर महानगरपालिका–११ को क्वारेन्टिन भने व्यवस्थित गरिएको छ । वडाध्यक्ष बाबुराम अधिकारीका अनुसार कमलामाई मन्दिरमा १६ श्ययाको क्वारेन्टिन तयार गरिएको छ । मेडिकल कलेजको श्यया, स्थानीयवासीको सहयोगमा खाट, पङ्खाजस्ता सामग्री मागेर क्वारेन्टिन व्यवस्थित गरेको उनले बताएका छन् । मङ्गलबारबाटै क्वारेन्टिनमा खाना खुवाइने उनको भनाइ छ । (रासस)