Logo

चिकित्सकको सेवाबाट कोरोनाका बिरामी ढुक्क



काठमाडौँ, १३ जेठ । कैलालीको टीकापुर अस्पतालमा रहेका कोभिड –१९ संक्रमित तीनै जनाको अवस्था सामान्य छ । उनीहरुमध्ये ४० वर्षीय एक जनालाई सामान्य रुघा लागेको छ भने अन्य १९ र २१ वर्षीय युवकलाई केही समस्या देखिएको छैन ।

चालीस वर्षीय पुरुष भारतको महाराष्ट्रबाट आउनुभएको हो भने १९ वर्षीय युवक सुनसरीको इटहरी र २१ वर्षीय युवक बाँकेको नेपालगञ्जबाट आएको हो । कैलालीको जानकी गाउँपालिका ७ घर भएका २१ वर्षीय युवक गत वैशाख २९ गते बाँकेबाट आएको हो । बाँकेमा अध्ययनरत एम्बुलेन्समा आएर पाँच दिन घर बसेपछि जानकी–७ का वडाध्यक्ष लक्ष्मण चौधरी उनको घरमै गएर युवकलाई क्वारेन्टाइन बस्न आग्रह गरेका छन् ।

गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएका १६ जनाको स्वाब परीक्षण गर्दा शुक्रबार तीन जनाको नतिजा पोजेटिभ आएको हो । टीकापुर अस्पतालमा भर्ना गरिएका उनीहरुको दैनिक दुई पटक ज्वरो नाप्ने गरिएको छ । त्यसबाहेक चिकित्सकबाट नियमित जाँच भइरहेको छ । कोरोना संक्रमितलाई अस्पतालमा राखिएपछि त्यहाँ त्रास बढेको छ ।

अस्पतालमा नियमित उपचारमा आउनेहरु घटेका छन् । ‘‘संक्रमितहरुमा समस्या छैन । संक्रमित राखेपछि अस्पतालमा आउने बिरामी भने घटेका छन्’’, टीकापुर अस्पतालका डा जीतेन्द्र कँडेल भने, ‘‘अस्पतालमा दैनिक तीन सय पचास जनासम्म बिरामी आउँथे । आजभोलि एक डेढ सय जना मात्र आउन थालेका छन् ।’’ (रासस)



प्रतिक्रिया दिनुहोस्