Logo

“कर्तव्य भूमिमा ढले पनि पिर छैन”



काठमाडौँ, १७ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा रहेका छन् ।

आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति उनको चासो र चिन्ता छ । “जनताको सेवा अनि आफ्नो कर्तव्य वहन गर्दागर्दै कर्तव्यभूमिमै ढलिएछ भने पनि रत्तिभर पिर छैन, पिर त मेरा जनताको स्वास्थ्यको छ, भगवानसँग प्रार्थना गर्छु, कसैलाई पनि केही नहोस् ।”, उनले जनतालाई सान्त्वना दिँदै भनेको छ, “नआत्तिऔँ, बरु सावधानी अपनाऔँ ।”

भारतको कोरोना सङ्क्रमित शहरबाट फर्किएका जनतालाई भारतीय शहर रुपैडिहासम्म पुगेर वडाको क्वारेन्टिनमा पु¥याउने र क्वारेन्टिनमा बसेका नागरिकको सेवामा खटिँदै आएका उनको दुई दिनअघि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । जनताकै सुरक्षाका लागि काम गर्दागर्दै सङ्क्रमित हुनुपरेकामा आफू कहीँकतै दुःखी नभएको बताउँदै उनले जनताको सेवा अनि आफ्नो कर्तव्य पूरा गर्नेक्रममा आफू भाइरसको सङ्क्रमणमा परे पनि वडावासीलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

“जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्यानै जोखिममा राखेर यथाशक्य प्रयास गरेकै हो तर स्वास्थ्य शाखाको चरम लापरबाहीका कारण हिजो क्वारेन्टिनमा बसेका मान्छेहरु डिस्चार्ज भएकामा सबै सामु माफी चाहन्छु”, उनले भनेको छ,“क्वारेन्टिन व्यवस्थापनमा खानपिन, बसाइ लगायतको व्यवस्थापन वडाबाट हुँदै आएको थियो, सुरक्षासम्बन्धी व्यवस्थापन सुरक्षा निकायले हेर्दै आयको थियोे भने क्वारेन्टिनमा आउने मान्छेको भर्ना जाँच अनि डिस्चार्जको जिम्मा स्वास्थ युनिटको हो ।” वडाअध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्क भएको हुन सक्ने आशङ्कामा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई वडा नम्बर ३ स्थित आश्रय भवनको क्वारेन्टिनमा राखिएको छ ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका वडाध्यक्ष र कर्मचारीलाई क्वारेन्टिन र होम क्वारेन्टिनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताएका छन् । उनका अनुसार कोरोना पोजेटिभ आएका सबै व्यक्तिलाई आइसोलेशनमा राखिएको छ । कोरोना सङ्क्रमितको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब सङ्कलन गर्ने कार्य भइरहेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्