काठमाडौं, १७ जेठ । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेको छ।
शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान पुगेका थिए । अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भए । उनीहरुले रातभर केही खान पनि नदिइएको बताएका छन् ।
प्रतिष्ठानमा हाल ६७ जना संक्रमित छन् । अस्पतालमा तयारी अवस्थाको बेड ७० वटा मात्र भएकाले भर्ना लिन समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा। निर्देश सापकोटाले बताए। उनले झापाबाट संक्रमितहरु आएपछि रातभर बेडको व्यवस्था गरेको र अब भर्ना लिइने बताए।
यता, प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विरामीलाई भर्ना नगर्नु अस्पतालको लापरवाहीको पराकाष्टा भएको टिप्पणी गरे।
बिहीबार मात्रै अस्पताल प्रशासनसँगको छलफलमा उपकुलपति डा। ज्ञानेन्द्र गिरीले अस्पतालका २०० बेडमध्ये १५० वटा खाली रहेको बताएको भन्दै मन्त्री घिमिरेले समस्या भए आफूलाई जानकारी गराउनुपर्ने तर यो लापरवाहीको पराकाष्टा हो भने। रेडियो एनआरएनबाट