Logo

कोरोना सङ्क्रमितको उपचार जिपी उपचार केन्द्रमा



काठमाडौँ, २१ जेठ । कोरोना पुष्टि भएका तनहुँका सङ्क्रमितलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा राखेर उपचार गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन केन्द्रका संयोजक बद्रीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोनासँग सम्बन्धित बिरामीलाई उपचार केन्द्रमा उपलब्ध आइसोलेसनकक्षा भएसम्म उपचारका लागि भर्ना गर्ने निर्णय गरेको हो ।

उपचार केन्द्रमा १२ श्ययाको आइसोलेसनकक्ष निर्माण गरिएको छ । तनहुँका पहिलो कोरोना सङ्क्रमित ऋषिङ गाउँपालिकाका २८ वर्षीय युवाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिल्लामा कोरोना सङ्क्रमितको उपचारका लागि उपचार केन्द्रसहित दमौली अस्पताल, बन्दीपुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनकक्ष बनाइएको छ ।

कोरोना सङ्क्रमित थपिएको अवस्थामा क्रमशः दोस्रो, तेस्रो र चौथो क्रम तोकी बिरामी उपचारका लागि राखिने प्रजिअ अधिकारीले जानकारी दिएका छन् । “जिपी कोइराला अस्पताललाई पहिलो प्राथमिकता तोकेर नयाँ सङ्क्रमित फेला परे पनि सोही अस्पतालमा उपचार गर्ने निर्णय भएको छ”, उनले भने, “बाँकी अस्पताललाई भने प्राथमिकताक्रम निर्धारण गर्न बाँकी छ ।”

जिपी कोइराला उपचार केन्द्रबाट सञ्चालन हुँदै आएका बहिरङ्ग सेवा (ओपिडी) तथा स्वास्थ्य बीमा कार्यक्रम सोही उपचार केन्द्रसँगै रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र वा शिवपञ्चायन मन्दिरमध्ये कुनै एकलाई भाडामा लिइ सञ्चालन गर्नका लागि शुक्लागण्डकी नगरपालिकालाई आग्रह गरिएको छ । उपचार केन्द्रलाई तत्काल भौतिक तथा पूर्वाधार विकासका लागि स्थानीय तहहरुलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको प्रजिअ अधिकारीले जानकारी दिएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्