जेठ २४, काठमाण्डौ । कोरोना भाइरसको आरडिटी परीक्षणको बिषयमा धेरै प्रश्नहरु उठेपनी सरकारले त्यसलाई रोक्न सकेको छैन । आरडिटी गरे पनि संक्रमण भए नभएको यकिन गर्न पिसिआरमै भर पर्नुपर्ने अवस्था छ । कोरोना परीक्षणमा पिसिआर नै भरपर्दो भनिए पनि सरकारले यसको दायरा फराकिलो बनाउन सकेका छैनन् । बरु अहिले पनि आरडिटी परिक्षणकै संख्या बढिरहेको छ ।
जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका एक पुरुषको ८ गते डोल्पा पुगेपछि आरडीटी परीक्षण गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको २० गते मृत्यु भएको थियो । मृत्युपछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भयो । जेठ ८ गते भारतबाट दैलेख पुगेका नारायण नगरपालिका–२ का तीन जनाको आरडीटी परीक्षण गरियो । केही दिन नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइयो । तर, पीसीआर रिपोर्ट पोजेटिभ आएको भन्दै फेरि क्वारेन्टाइनमा बोलाइएको छ ।
यि दुई त प्रतिनिधि घटना मात्रै हुन । यि घटनाले आरडिटिको औचित्य नभएको पुष्टि गर्छ । तर सरकार भने आरडिटीलाई जोड दिईरहेको छ । नेपालमा कोरोना भाइरसको लागि पिसिआर र आरटिडी गरी दुई किसिमका प्रयोगशाला परीक्षण प्रयोगमा छन्। पिसिआर भन्दा आरडिटी परिक्षाण नै तिब्र रुपमा गरिएको छ । आरडिटी परीक्षणको संख्या बढेसँगै आरडिटी पोजिटिभ भएका मान्छेमा पिसिआर नेगेटिभ, आरडिटी नेगेटिभ भएकामा पिसिआर पोजिटिभ जस्ता समाचारहरुले जनमानसमा द्विविधा र भ्रम सिर्जना गरेको छ ।
आरडिटी परीक्षण व्यापक रूपमा भए तापनि कोभिड १९ संक्रमण पहिचानमा यसको भूमिका भने नगन्य जस्तै छ । जनस्वास्थ्यविद डा रविन्द्रनाथ पाण्डेयका अनुसार आरडिटी संक्रमण फैलीईसकेपछी परिक्षण गर्ने बिधी नै होइन ।
जनस्वास्थ्यविदका अनुसार रोगको प्रारम्भिक चरणमा आरडिटीको नतिजा नेगेटिभ आउँछ, त्यसैले कोभिड १९ निदानका लागि एन्टिबडी परीक्षण घातक पनि हुन सक्छ । जनस्वास्थ्य विज्ञहरुले आरडिटीको विश्वसनियता नभएकाले यसलाई रोकेर पिसिआर पद्धतिबाट नै कोभिड–१९ को परीक्षण गर्नुपर्ने सुझाव दिइरहेका छन ।
तर सरकारले भने उनिहरुले दिएको सुझावलाई वेवास्ता गरेर फेरी पनि आरडिटी किट किन्ने प्रकृया अगाडि बढाएको छ । विश्व् स्वास्थ्य संगठनले पनि पिसिआर विधिबाट नै परिक्षण गर्न सिफारिस गरेको छ । त्यसैले कोरोना परिक्षणका लागि सरकारले पिसिआर विधिलाई नै प्राथमिकतामा राख्नुपर्छ ।
नेपालमा अहिलेसम्म कूल २ लाख २९ हजार ९ सय १४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म हालसम्म ९२ हजार ४ सय ७७ जनाको पिसीआर परीक्षण र १ लाख ३७ हजार ४ सय ३७ को आरडीटी टेस्ट सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ५ हजार ५ सय ७० वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ९ हजार ६ सय ८१ वटा परीक्षण भएको छ ।