काठमाडौँ, २९ जेठ । रामपुर नगरपालिकाका बासिन्दाको अझै पनि खानेपानीमा पहँुच पुगेको छैन । नगरपालिकाको केन्द्र नजीकै रहेको रामपुर –४ काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ ।
गाउँमा दिगो खानेपानीको प्रबन्ध नहँुदा समस्या अझै पनि समाधान हुन नसकेको ताराबहादुर सोतीले बताएका छन् । पिउने पानीदेखि लिएर गाईभैँसीलाई खुवाउन र नुहाउन गाउँमा पानीको अभाव भएपछि स्थानीयवासी समस्यामा परेका छन् । गाउँमा लिफ्टिङ प्रणालीमार्फत खानेपानी आपूर्ति गर्न मूल कुवा नहुँदा समस्या परेको छ ।
रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनाको पानी बस्तीमा लैजान पर्याप्त रकम नहँुदा समस्या परेको काँसजरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर वीरकट्टाले बताएका छन् । गर्मीयाम शुरु भएपछि बस्ती आसपासमा रहेका खोलाका किनार र खोल्सीमा पुगेर पानी ल्याउनुपर्दा दैनिक एकदेखि डेढ घण्टाको समय त्यसै बित्ने गरेको छ ।
खानेपानी समस्या समाधान गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेको छ । रामपुर दोस्रो साना शहरीमार्फत खानेपानी आपूर्ति गराउन रकम धेरै लाग्ने भएकाले खानेपानी समस्या समाधान हुन नसकेको रामपुर– ४ का वडा सदस्य सीमादेवी रानाले बताएका छन् । काँसजरी क्षेत्रका २३ घरधुरीका करीब दुई सय बासिन्दाले खानेपानी समस्या झेल्दै आएका छन् । (रासस)