Logo

प्रधानसेनापति पहिलोपटक कालापानी क्षेत्र पुग्दै, निर्माणाधीन रणनीतिक मार्ग नीरिक्षण गर्ने



काठमाडौं, ३ असार । आज नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल कालापानी क्षेत्र पुग्दैछन् । उनीहरु हवाई मार्ग हुँदै कालापानीको छाँगरुमा पुग्नेछन् ।

नेपाली सेनाका प्रधानसेनापति पहिलोपटक कालापानी क्षेत्र पुग्न लागेका हुन् । यसलाई निकै चासोका साथ हेरिएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्शा जारी गरेपछि उक्त क्षेत्र नजिकै सेनापति सशस्त्र प्रहरीका आइजीपी खनालसहित सुरक्षा अधिकृतहरुसँग पुग्दैछन् ।

काठमाडौंबाट प्रस्थान गरेका दुवै सुरक्षा निकायका प्रमुखहरु केही बेरमा छाँगरु पुग्नेछन् । उनीहरु सैनिक विमानबाट धनगढी पुगी हेलिकोप्टर चढेर छाँगरु पुग्ने योजना बनेको बुझिएको छ । त्यहाँ सेनाको अस्थायी बेसक्याम्पस र सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट रहेको छ । छाँगरु पुग्ने बाटो बनिरहेकाले त्यसको समेत निरीक्षण गर्नेछन् । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गरेपछि सरकारको निर्देशनमा दार्चुलाको छाँगरुमा सेना र प्रहरी पुगेका हुन् ।

यसअघि छाँगरु पुग्न भारतको मार्ग प्रयोग गर्नुपर्दथ्यो । अब नेपालकै भुभाग भएर पुग्न सकिने गरी बाटो बनाउने क्रम तिव्र गतिमा चलेको छ ।-File Photo 

 



प्रतिक्रिया दिनुहोस्