एजेन्सी, ९ असार । चीनको नाटकीय उदयलाई स्वीकार गर्दै भारतले नयाँ चीन नीति बनाउनुपर्नेमा भारतका एकजना अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले सुझाव दिएका छन् । सी राजा मोहनले यसलाई भारतको शक्ति विस्तारको महत्वपूर्ण अवसर समेत भनेका छन् ।
‘चीनको नाटकीय उदयलाई स्वीकार गरेर उसले प्रस्तुत गरेको विभिन्न चुनौतीहरुलाई बुझेर दिल्लीले नयाँ चीन नीति बनाउनुपर्छ,’ राजा मोहनले आज इन्डियन एक्सप्रेसमा लेखेका छन् । उनले मोदी सरकारलाई आर्थिक आधनिकिरणलाई गति दिन र भारतको राष्ट्रिय शक्ति विस्तार गर्न पाएको अवसरको सदुपयोग गर्न सुझाव समेत दिएका छन् ।
आफ्नो ढोका अगाडि नै विशाल शक्तिको उदय भइसकेको तथ्यलाई दिल्लीले मनन गर्नुपर्ने उनको भनाई थियो । राजामोहनले चीनसँग महान शक्तिले भुमी दाबी गर्दै छिमेकीलाई झुकाउने, विश्व व्यवस्थामा आफ्नो स्वार्थ बमोजिम पुनः आकार दिने महत्वाकांक्षा समेत राख्ने तथ्य समेत उल्लेख गरेका छन् । चीनको उक्त महत्वाकांक्षा खुलेआम आइरहेको तर भारतले त्यसलाई सिधा दृष्टिले हेर्न अस्वीकार गरिरहेको उल्लेख गरेका छन् ।
चीनको स्वार्थ र महत्वाकांक्षलाई भारतले गलत तरिकाले पढिरहेको समेत लेखेका छन् । भारतले जति लामो समयसम्म यस्तो रणनीतिक ढिलासुस्तीलाई मनन गर्छ त्यति नै चीन मामलामा उसले बढी समस्याको सामना गर्ने उल्लेख गरेका छन् ।
भारत र चीनबीच सिमामा विवाद भई हताहती हुनेगरी झडप भएपछि राजामोहनले भारतको चीन नीतिबारे सुझाव दिएका हुन् ।