Logo

व्यापारतर्फ सोझियो भारतचीन सीमा विवाद



नयाँदिल्ली, १७ असार । सीमा क्षेत्रमा भएको हिंसात्मक झडपका कारण भारत र चीनबीच देखिएको तनाव क्रमशस् व्यापारतर्फ सोझिएको छ । जुन १५ मा सीमा विवादलाई लिएर लद्दाखस्थित गलवान उपत्यकामा दुवै पक्षबीच हिंसात्मक झडप भएको थियो । उक्त घटनापछि यी दुई छिमेकीको सम्बन्ध तनावपूर्ण बन्न पुगेको हो ।

त्यसका बाबजुद दुवै पक्षले कूटनीतिक र सैनिकस्तरमा विवाद मत्थर गर्न छलफललाई निरन्तरता दिँदै आएका छन् । मंगलबार मात्र मेजर जनरल स्तरमा सीमा क्षेत्रको तनाव कम गर्ने विषयमा वार्ता भएको थियो । तर, भारतले चिनियाँ आयात र लगानी निरुत्साहित गर्न पछिल्ला दिनमा लिएका निर्णयले सीमाका कारण सुरु भएको दुई देशबीचको तनाव व्यापारतर्फ मोडिन थालेको देखिन्छ ।

गलवान घटनापछि भारतभित्र चीनसँगको आर्थिक व्यापारिक सम्बन्ध नै तोड्नुपर्ने माग हुँदै आएको छ । भारतले चीनमाथि दबाब सिर्जना गर्न केही दिनमा आर्थिक र व्यापारिक क्षेत्रमा कडाइ गर्न थालेको छ । सोमबार भारतले चीनमा निर्मित ५९ वटा मोबाइल एप्सको प्रयोगमा रोक लगाउने निर्णय गरिसकेको छ । भारतले सुरक्षालगायतका कारण देखाएर टिकटकलगायत एप्सको प्रयोगमा प्रतिबन्ध गरेको हो ।

चीनले भने उक्त निर्णय पूर्वाग्रही र अन्तर्राष्ट्रिय व्यापारको मान्यताविपरीत भएको बताएको छ । ‘भारतको कदम अन्तर्राष्ट्रिय व्यापारको प्रचलित मान्यताको खिलाफ हुनुका साथै यसले प्रतिस्पर्धी बजार र उपभोक्ताको रुचिअनुकूल पनि छैन,’ दिल्लीस्थित चिनियाँ दूतावासले जनाएको छ । साथै दूतावासले प्रतिबन्धित एप्स प्रयोगकर्ता भारतमा ठूलो संख्यामा रहेको र भारतको कानुन र नियमको पूर्णरूपमा पालना गरिएको जनाएको छ । उक्त निर्णयले एप्स निर्माणमा जोडिएका उद्यमी र भारतीय कामदारको रोजगारीमा असर पुग्ने चीनको भनाइ रहेको समाचार आजको कान्तिपुरमा सुरेशराज न्यौपानेले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्