Logo

सार्वजनिक यातायात चलाउने बारे व्यवसायी नै अन्यौलमा



काठमाडौं, असार २६। सरकारले आजदेखि सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेपनि यातायात व्यवसायी भने अन्यौलमा परेका छन् ।सरकारले पर्याप्त छलफल र परामर्श नै नगरी एकलौटी निर्णय गरेको भन्दै व्यवसायीहरुले अन्यौलता प्रकट गरेका हुन् ।

सार्वजनिक यातायातका साथ चलाउन दिनेबारे सरकारको निर्णय आफुहरुले सञ्चार माध्यम र्फत् थाहा पाएको र अचम्मीत भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सरोज सिटौलाले बताएका छन्।

‘हाम्रा साधनहरुका चालक, कर्मचारी कहाँ छन् भन्ने थाहा छैन, साधनहरु कुहिएको अवस्थामा छन्, आजको आजै सञ्चालन गर्न सकिने अवस्था छैन, तयारीका लागि केही समय दिनु पथ्र्यो ।’ सिटौलाले भने ।

तीन महिनादेखि थन्क्याइएका सवारी साधन बनाउनु पर्ने र चालक तथा कर्मचारीहरु सम्वन्धीत ठाउँमा पुग्नु पर्ने भएकाले त्यसका लागि केही समय आवश्यक हुने उनको भनाई छ ।

सवारी साधन सञ्चालन गर्दा यातायात मजदुर र यात्रुहरुको स्वास्थ्य सुरक्षा कसरी सुनिश्चित गर्ने, मापदण्डहरु के के बनाउने भन्ने बारेमा सरकारले सरोकारवालालाई राखेर छलफल गरेको भए प्रभावकारी उपायहरु आउन सक्ने उनको भनाई छ ।

यातायात सञ्चालनका उपायहरुका बारेमा आफुहरुले पटक पटक ध्यानाकर्षण गराउदाँ पनि कुनै वास्ता नगरेको सरकारले एकटौली रुपमा निर्णय गरेको र त्यो निर्णय अपर्याप्त, अपरिपक्व र अस्पष्ट रहेको उनको दाबी छ ।

सरकारको निर्णय अनुसार यातायातका साधन सञ्चालन गर्न सकिने वा नसकिने वा के के व्यवस्था गर्नु पर्दछ भन्ने बारेमा निर्णय गर्न आज दिउसो १ बजे महासंघको आकस्मीक बैठक बोलाइएको पनि उनले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्