लमजुङ, २६ असार : पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन् । बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताए ।
उनका अनुसार भोंजेगाउँका गमबहादुर कामीको घरको पिंँढी र आँगन भत्किएको छ । सोही घरसँग जोडिएको गोमा विकको आँगन पनि भासिएको तथा उनको तल रहेको डल्ले कामीको घर पुरिने सम्भावना रहेको वडा सचिव विकको भनाइ छ ।
यसै गरी कालो सार्कीको घरको पिंँढी नै भासिएको छ । उनीहरुलगायत गाउँका अन्य घर उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ ।
गाउँमा भोंजे पहिराले जोखिममा पार्दै आए पनि यस वर्ष भने घरनिर नै पहिरो गएपछि थप चिन्तामा स्थानीयवासी छन् । विसं २०४६ देखि जान थालेको भोंजे पहिरो हालसम्म पनि निरन्तर गइरहेको छ । उनका अनुसार उक्त पहिरोभन्दा पनि अहिले गाउँको घरनेर नै पहिरो गएपछि समस्या आएको छ । रासस/File photo