Logo

औपचारिक रुपमा केपी ओलीको राजीनामा मागिएको छैन : प्रवक्ता श्रेष्ठ



साउन ३, काठमाण्डौ । दिउँसो ३ बजेदेखी साँझ ७ः३० बजेसम्म बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । आजको बैठकले विवादित विषयमा सहमति खोज्ने अन्तिम प्रयास गर्ने बताइए पनि ४ घण्टाभन्दा बढि समय बसेको बैठकले सहमति जुटाउन नसकेको हो ।

तर आजको बैठकले सहमतिको संकेत भने गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाईबाट बुझ्न सकिन्छ । आजको बैठकपछि प्रवक्ता श्रेष्ठले केपी ओलीको राजीनामा औपचारिक रुपमा नमागिएको बताए । यसअघि ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिइरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर आज लचक देखिएको श्रेष्ठको भनाईबाट बुझ्न सकिन्छ ।

“औपचारिक रुपमा केपी ओलीको राजीनामा मागिएको छैन । स्थायी कमिटी बैठकमा केही साथीहरुले आफ्नो धारणा राख्नुभएको हो ।” श्रेष्ठले भने । अझै छलफल गरेर पार्टी एकतालाई रक्षा र सुदृढ गर्नुपर्नेमा नेताहरु एकमत भएको पनि श्रेष्ठले बताए । साथै विवादिन विषयमा अझै छलफल गरिने उनको भनाई छ । भोलिका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने सहमति पनि भएको उनले जानकारी दिए ।

आजको बैठकमा नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न र जनताको जनादेशलाई पूरा गर्न सरकार प्रतिवद्ध हुनुपर्ने विषयमा पनि छलफल भएको उनले बताए । आजको सचिवालय बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, महिला तथा समाजकल्याण मन्त्री पार्वत गुरुङ र प्रदेश पाँचका मूख्यमन्त्री शंकर पोखरेललाई पनि सहभागि गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्