Logo

हत्या अभियोगमा वडाध्यक्ष जेल चलान



सर्लाही, ४ साउन। हत्या अभियोगमा सर्लाहीको रामनगर गाउँपालिका–४, बहुअर्वाका वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षमा कारागार चलान गरेको छ । बहुअर्वाकै रामजनम राय भन्ने ६० वर्षीय रामजल रायको हत्या घटनामा वडाध्यक्ष महतो मुछिनुभएको थियो ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा शुक्रबार भएको थुनछेक बहसपछि वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको हो । अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई शुक्रबार अबेर गौर कारागार, रौतहट चलान गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थानीय नेता रामजलको गत असार ७ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो । उहाँको हत्यालगत्तै प्रहरीले वडाध्यक्ष महतोलाई पक्राउ गरेको थियो । वडाध्यक्ष महतो नेपाली काँग्रेसबाट निर्वाचित हुन् ।

बुवाको हत्यापछि रामजलका छोराले वडाध्यक्ष महतो लगायत नौ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिनुभएको छ । जाहेरी परेका अन्य आठ जना भने फरार छन् । प्रायः राजनीतिक किचलो परिरहने निर्वाचन क्षेत्र नं। ४ स्थित रामनगरको घटनापछि सर्लाहीमा नेकपा र काँग्रेसबीच तिक्तता बढ्दैगएको छ ।

काँग्रेसले प्रेस विज्ञप्ति जारी गरी सत्ताको आडमा प्रहरी प्रशासनलाई दबाबमा पारी आफ्नो पार्टीका निर्दोष वडाध्यक्षलाई फसाइएको दाबी गरेको थियो । यसैगरी नेकपाले पनि प्रेस विज्ञप्ति प्रकाशित गरी सडक बनाउने विषयमा वडाध्यक्ष महतोसँग विवाद भएपछि आफ्ना कार्यकर्ता रामजलको हत्या भएको भन्दै घटना शङ्कास्पद रहेको बताएको छ ।

रामजलको हत्यापछि दुवै पार्टी र उसका भातृ संस्थाहरूले एक–अर्काविरुद्ध पटक–पटक विरोध जुलुस निकालेका छन् । त्यसक्रममा दुई पार्टीका कार्यकर्ताबीच असार १४ गते धनकौल गाउँपालिकामा दोहोरो झडप हुँदा १५ जनाभन्दा बढी घाइते भएका समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्