Logo

राति भित्रिनेबाट उच्च जोखिम, सीमा क्षेत्रका बासिन्दा त्रसित



बारा, १५ साउन । रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल भित्रिने क्रम नरोकिएपछि बारा जिल्लाका सीमा क्षेत्रका बासिन्दा त्रसित भएका कलैया उपमहानगरपालिका वडा नं। १०, मटिअर्वा टोलका रामायाण पडितले बताउनुभयो ।

यसरी भारतबाट आउनेहरु बारा जिल्लाको पूर्वमा सिम्रौनगढ, पचरौता नगरपालिका, सुर्वण, फेटा र बिश्रामपुर गाउँपालिकाको दक्षिणी भागमा पर्ने खुला सीमाबाट नेपाल प्रवेश गर्छन् । दिउँसो कम देखिए पनि राति धेरै सङ्ख्यामा ओहोरदोहोर गर्ने गरेको सिम्रौनगढ नगरपालिकाका जयप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।

भारतीय नागरिक लुकिछिपी बारा, पर्सामा आउने, चुपचाप बस्ने र उद्योग कारखानामा काम गर्ने बताइएको छ । यो क्रम बढ्दै गएपछि अहिले पथलैया–वीरगञ्ज औद्योगिक कोरिडोर कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले बताउनुभयो । अवैध रुपमा भारतबाट नेपाल कामदार भित्र्याउने काममा उद्योगी व्यवसायी पनि लागेको स्थानीयहरु बताउँछन् ।

पर्सामा ३४ जनामा सङ्क्रमित

वीरगञ्ज समाचारदाताका अनुसार पर्सा जिल्लामा ३४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले २७४ जनाको स्वाब परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमित फेला परेको जानकारी दिनुभयो ।
नयाँ फेला परेका सङ्क्रमितहरुमा नेपाली सेनाका एक जना, नेपाल प्रहरीका तीन जना, वीरगञ्ज कारागारका कैदीबन्दी छ जना, वीरगञ्ज कारागारकै कर्मचारी दुई जना र स्वास्थ्यकर्मी एक जना छन् । यसैगरी, पाँच जना बालबालिका र १० जना महिलामा पनि सङ्क्रमण फेला परेको छ । नयाँ फेला परेको सबै सर्वसाधारण वीरगञ्ज महानगरपालिकाका भएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्