Logo

विद्यालय खोल्ने तयारी थाल्दै सरकार



काठमाडौँ, १६ साउन । शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालयले क्वारेन्टाइन र आइसोलेसनमा रहेको विद्यालय खाली गर्ने निर्णय गरेको छ । मन्त्रालयले विद्यालय भवन तथा परिसमा क्वारेन्टाइन र आइसोलेसनसम्बन्धी कार्यहरु नगर्ने, क्वारेन्टाइन र आइसोलेसनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्डबमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय गरेको छ । गएको मन्त्री परिषद्ले गरेको निर्णयको हिजो बुधबार मन्त्रालयले प्रमाणीकरण गरी सो निर्णय गरेको हो ।

 

विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आगमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्र निकट हुने गरी कोभिड–१९ रोकथाम नियन्त्रणसम्बन्धी संरचना नराख्ने समेत निर्णय गरेको छ । सोमबारको मन्त्रीपरिषद्को निर्णयलाई मन्त्रालयले ७ बुदे निर्देशन समेत जारी गरेको छ ।

 

मन्त्रालयले कोभिड–१९ का कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्न सो निर्णय गरिएको मन्त्रीका स्वकीय सचिव पुरण केसीले जानकारी दिनुभयो । मन्त्रालयले शैक्षिकसत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशित गर्न, भदौ १ गतेबाट भर्ना, कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्ने र भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न शिक्षक विद्यालयमा पुग्ने व्यवस्था मिलाउने र मन्त्रालयले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने उल्लेख भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्