Logo

मान्यता प्राप्त निजी प्रयोगशालालाई निर्बाध सशुल्क पीसीआर परीक्षण अनुमति



काठमाडौँ, १६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि कोरोनाको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त गरेका निजी प्रयोगशालाहरुले आफैंले स्वाब संकलन गरेर परीक्षण गर्न पाउने निर्णय गरेको छ ।

पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबबाट आरएन निकाल्न प्रयोग हुने अटोम्याटिक आरएनए एक्सट्र्याक्टर मेसिन ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बुधबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो । उनका अनुसार अब जो कोहीले पनि पीसीआर परीक्षणको अनुमति प्राप्त गरेका प्रयोगशालामा गएर सशुल्क परीक्षण गर्न पाउनेछन् । यस प्रकारको परीक्षणका लागि कुनै मापदण्ड पूरा गरेको हुनुपर्ने छैन ।

यद्यपि सरकारले मापदण्डमा परेकाहरुको भने सरकारी प्रयोगशाला गरिँदै आएको निस्शुल्क परीक्षणलाई पनि निरन्तरता दिनेछ । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न दिने निर्णय गर्दै असार ८ निर्देशिका ल्याएको थियो । तर, उक्त निर्देशिकामा प्रयोगशालाहरुलाई आफैं नमुना संकलन गर्न भने रोक लगाइएको थियो । यस्तै स्वास्थ्य मन्त्रालयले असार २८ गते सानेपास्थित स्टार अस्पताल र सिनामंगलस्थित केएमसी अस्पताललाई आफ्ना बिरामी तथा कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुको नमुना संकलन गरेर परीक्षण गर्न अनुमति दिएको थियो । मन्त्रालयलले धुम्बाराहीस्थित ह्याम्स अस्पताललाई पनि बुधबारबाट आफैं स्वाब संकलन गरेर परीक्षण गर्न अनुमति दिएको थियो ।

यी तीन अस्पतालबाहेक कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याब ९सीडीएल०, लाजिम्पाटस्थित सूर्या हेल्थ केयर, कुपण्डोलस्थित बिध म्यानेजमेन्ट प्राली, बुटवलस्थित नेशनल प्याथ ल्याब र नेपालगन्‍जस्थित बागेश्वरी डायग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरले पनि पीसीआर परीक्षण गर्ने अनुमति पाएका छन् ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको निर्णयसँगै अब यी सबै ल्याबहरुले पनि आफैं स्वाब संकलन गरेर परीक्षण गर्न पाउनेछन् । तर अनुमति प्राप्त सबै प्रयोगशालाले सरकारले बनाएको कोरोना परीक्षणको मापदण्डको भने अक्षरस पालना गर्नुपर्ने छ । विशेष गरेर संक्रमितको वैयक्तिक विवरण सार्वजनिक भएमा कुनै पनि बेला उनीहरुले पाएको अनुमति खारेज हुने पनि मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए ।

यस्तै काठमाडौं उपत्यकामा रहेका वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललगायत प्रदेश १ मा कोसी अस्पताल र प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिममा प्रादेशिक प्रयोगशाला धनगढीलाई पनि सशुल्क कोरोना परीक्षण गर्ने अनुमति दिइएको छ ।

यस्तै मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार कोरोना परीक्षणको अनुमति प्राप्त नगरेका अस्पतालहरुले स्वाब संकलन गरेर परीक्षणको अनुमति प्राप्त गरेका प्रयोगशालामा पीसीआर परीक्षणका लागि नमुना पठाउन समेत पाउने भएका छन् । यसरी नमुना जाँच गराउँदा अन्यत्र पठाउनुपर्दा ती अस्पतालहरुले सरकारले प्रति परीक्षणका लागि तोकेको ५५ सय रुपैयाँको १० प्रतिशतले नबढ्ने गरी सेवा शुल्क लिन पाउने खबर आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्