Logo

सङ्क्रमित थपिँदै जाँदा स्थानीय तहले लकडाउन घोषणा गर्न थाले



राजविराज, १८ साउन । सप्तरीमा सङ्क्रमितको सङ्ख्या बढ्दैगएपछि जिल्लावासी त्रसित भएका छन् । राजविराज नगरपछि जिल्लाका अन्य स्थानीय तहहरूले पनि अनिश्चितकालका लागि लकडाउन जारी गर्न थालेको छ ।

राजविराज नगरमा एक सङ्क्रमित वृद्ध व्यापारीको मृत्युपछि सङ्क्रमित दिन प्रतिदिन थपिँदै जाँदा ७ गतेदेखि अनिश्चितकालीन लकडाउन गरेको छ । त्यसको भोलिपल्टदेखि जिल्ला सुरक्षा समितिको बैठकले नगर क्षेत्रभित्र अर्को सूचना जारी नहुन्जेलसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

साउनयता नगरभित्रै करिब ४० जना थपिएका छन् । तीमध्ये मृतक सङ्क्रमतिको वडा नम्बर ६ कै करिब २६(२७ जना रहेका छन् । मृतकको संसर्गबाटै अहिलेसम्म ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

यस्तै राजविराजसँग जिल्लाको सबै स्थानीय तहरूको सम्पर्क रहने गरेको छ । स्थानीय तहहरूका बासिन्दा एवम् कर्मचारीलाई राजविराज नगरमा रहेको सम्बद्ध कार्यालय, खरिद व्यापार, व्यवसायलगायत कामको लागि आउजाउ गर्नुपर्दा राजविराजबाट स्थानीय तहसम्म कोरोना सङ्क्रमण फैलिनसक्ने सम्भावना रहेको छ । यसै कुरालाई मध्यनजर गर्दै जिल्लाका अधिकांश स्थानीय तहहरूमा पनि अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन जारी गरेको छ ।

जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । राजविराजपछि अहिलेसम्म डाक्नेश्वरी नगरपालिका, कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णसवरन गाउँपालिका, राजगढ गाउँपालिकालगायत आधा दर्जन स्थानीय तहले लकडाउन घोषणा गरिसकेका छन् । स्थानीय तहहरूले आफ्नो क्षेत्रअन्तर्गतका हाट बजार, पसल, यातायात बन्द गर्नुको साथै सार्वजनिक स्थलमा भीडभाड, सामूहिक कार्य, सामाजिक भोजभतेरलगायत कार्य नगर्न आग्रह गरिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्