Logo

लापरवाहीले फैलियो कोरोना



विराटनगर, साउन २० । सरकारले लकडाउन खुल्ला गरेको एक सातामा प्रदेश १ मा दैनिक संक्रमित बढ्न थालेका छन्। सोमबार प्रदेश १ मा हालसम्मकै सबैभन्दा बढी ५७ जना संक्रमित थपिए। प्रदेश १ का मुख्य न्यायाधिवक्ता र उनका परिवारमा समेत संक्रमण देखिएको छ।

लकडाउन खुलेको एक सातामा कोरोना संक्रमण मुख्य सहरसँगै अस्पताल, प्रहरी र प्रदेशका उच्च पदस्थ व्यक्तिसम्म पुगेको स्विकार्छन् प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे। ‘लकडाउन खुलेपछि सुरक्षा अपनाउने थोरै भए, जसको कारण संक्रमण छिटो सरेको हो’, उनले भने।

लकडाउनका बेला विदेशसहित अन्यत्रबाट ल्याएर क्वारेन्टाइनमा राखिएकामा संक्रमण देखिने गरेको भए पनि अहिले प्रहरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी र अन्यमा पनि संक्रमण देखिन थालेपछि संक्रमण रोक्न चुनौती थपिएको मन्त्री घिमिरे बताउँछन्।

‘संक्रमण रोक्ने मुख्य जिम्मेवार नागरिककै हो, सचेत बन्नुपर्‍यो, स्थानीय तहलाई पनि लकडाउनसहितको अधिकार दिएर संक्रमण रोक्न प्रयास गरेका छौं, उनी भन्छन् ‘अब नागरिकनै बढी होसियार बन्नुपर्छ।’

लकडाउन खुला भएपछि मास्क नलगाउने र सामान्य अवस्थाझैं सामाजिक दूरी कायम नहुँदा संक्रमण फेरि बढेको विज्ञहरू बताउँछन्। हाटबजार, सवारीसाधन, र अस्पतालसँगै भीडभाड हुने स्थानबाट फेरि संक्रमण फैलिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख तथा कोभिड अस्पताल इन्चार्ज प्राडा सञ्जीवकुमार शर्मा बताउँछन्।अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्