Logo

जुम्लाबाट सरकारलाई डा. गोविन्द केसीको चेतावनी : मलाई अवरोध गरे राम्रो हुँदैन



भदौ १५, काठमाण्डौ । स्वास्थ्य क्षेत्रको विकृति विसंगति अन्त्यका लागि निरन्तर अभियानमा रहेका डा. गोविन्द केसी अहिले जुम्लामा छन् । विकट क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि व्यक्तिगत तबरले केसी त्यस क्षेत्रमा पुगेका हुन् । तर कोरोनाको जोखिम हुने भन्दै सर्वसाधारणको स्वास्थ्य परिक्षणमा प्रहरी प्रशासनले रोक लगाएको छ । डा. केसी १८ गतेदेखि १९ आँै सत्याग्रहको तयारीमा छन् । तर सत्याग्रह रोक्नका लागि पनि सरकारले अनेक बाधा अवरोध सृजना गरिरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा बरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुका साथै विश्वविद्यालय, काउन्सिल तथा प्रतिष्ठानमा निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्तिको कानुनी व्यवस्था गरिनुपर्ने र अछामका बयालपाटा अस्पताललाई नियमित आवश्यक बजेटको प्रबन्ध गरी दिगो निःशुल्क सेवा सुनिश्चित गरिनुपर्ने माग राख्दै डा. गोविन्द केसीले भदौ १८ गतेदेखि १९ औं सत्याग्रह सुरु गर्ने तयारीमा छन् ।

डा. केसीले प्राइम टाइम्स टेलिभिजनका लागि टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री केपी ओली तथा वर्तमान सरकारको चर्को आलोचना गरे । सरकारले जनतालाई स्वास्थ्य सेवा मात्र नभै अरु कुनै पनि सेवा प्रवाह राम्रोसँग नगरेको केसीको आरोप छ ।

सत्याग्रहअघि डोल्पा र मुगुका केही बस्तीमा पुगेर उनले स्वास्थ्यसेवा दिन थालेका थिए । त्यहाँबाट जुम्ला खलंगा पुगेपछी भने उनीमाथि प्रहरी निगरानी बढ्न थाल्यो । डा केसीले आफुलाई गृह प्रशासनले दमन गरेको र सत्याग्रह रोक्नको लागि हरदम प्रयास गरेको बताएका छन् ।

१८ गते थालिने सत्याग्रह रोक्ने प्रयास भएमा स्थानीय प्रशासनविरुद्ध सत्याग्रह थाल्ने चेतावनी डा. केसीले दिएका छन् । सम्भावित सबै सत्याग्रहस्थल प्रशासले कब्जा गरेको केसीले बताएका छन् । तर जसरी पनि आफ्नो नछाड्ने उनको अडान छ ।

डा. गोविन्द केसीलाई सत्याग्रहमा बस्न नदिन उनी बसेको होटलवरिपरि प्रहरी परिचालन गरिएको छ । दुई वर्षअघि जुम्लामै सत्याग्रहमा बसेका डा. केसीलाई काठमाडौं लैजान बल प्रयोग गरिएको थियो । त्यस क्रममा अस्पतालमा उपचाररत सर्वसाधारणसमेत घाइते भएका थिए । यसपटक पनि दुई वर्षअघिको घटना दोहोरिन सक्ने भन्दै केसी स्वयम पनि सचेत रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्