काठमाडौं, २१ भदौ । ललितपुरका सिडिओ नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने धारणा राखेका छन् । उनले कोरोना संक्रमणको जोखिम बढिरहेकोले उपत्यकामा निषेधाज्ञा जारी राख्नुपर्ने तर्क गरेका हुन् । आज बसेको प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निषेधाज्ञा लगाएकै कारण आज काठमाडौं उपत्यकामा संक्रमण ठूलो मात्रामा नफैलिएको दाबीसमेत प्रस्तुत गरेका थिए ।
‘काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्छ’
काठमाडौंका सिडिओ जनकराज दाहालले भने काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्नुपर्ने धारणा राखेका थिए । उनले यसको लागि नेपाली सेना परिचालन गर्नुपर्ने पनि बताएका थिए । र, आफूहरुले नाकामा सेना परिचालन गर्नको लागि सिएमसीलाई प्रस्ताव समेत पेश गरेको स्पष्ट पारेका थिए ।