Logo

ओली-दाहालको प्रतिवेदन कार्यान्वयनको पर्खाईमा नेपाल, विधि र पद्धतीमा चल्न आग्रह



काठमाडौं, २६ भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ । आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्षद्धयको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका थिए । उनले प्रतिवेदनमा पार्टीको विधानमा उल्लेख गरिएको ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ को विषयलाई लत्याएको कुरा उठाएका थिए ।

उनले भनेका थिए,‘यो प्रतिवेदन पार्टीको विधानविपरित छ । एक व्यक्ति, एक मुख्य जिम्मेवारीको कुरा हामीले विधानमा लेखेका छौं । तर, यसबारेमा प्रतिवेदनमा केही पनि कुरा आएको छैन् ।’ नेता नेपालले आजको बैठकमा आफ्नो धारणा राख्ने क्रममा पार्टीलाई विधानअनुसार चलाउन नसके दुर्घटनामा जानेतर्फ सचेत गराएका थिए । अध्यक्षद्धय ओली र दाहाललाई उनले भनेका थिए,‘यो प्रतिवेदन पूर्ण रुपमा कार्याव्यन गर्नुहोस । अरु कुरा थाहा छैन् ।’ उनले अर्का अध्यक्ष दाहालको लागि पनि अबको समय अग्निपरीक्षा भएको भन्दै उक्त परीक्षा आजकै दिनबाट सुरू भएको टिप्पणी गरेका थिए ।

उनले पार्टीमा व्यक्तिवादी चिन्तन हाबी भएको उल्लेख गर्दै अब संस्थागत रुपमा पार्टीलाई डोर्याउने पहल गर्न दाहाललाई आग्रह गरेका थिए । उनले पार्टीमा कसैलाई काखा, कसैलाई पाखा लगाउने परिपाटी देखिएको सुनाउँदै त्यो पनि अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । नेता नेपालको भनाई उद्धृत गर्दै एक नेताले भने,‘सबैलाई अवसर दिनुहोस । पार्टीलाई मुख्यमा रुपमा संस्थागत, विधि र पद्धतीअनुसार चलाएको हेर्न मन छ ।’

बैठकमा अध्यक्ष दाहालले अमेरिकी सहयोग अनुदान एमसीसी परिमार्जनसहित पारित गर्नेबारे ब्रिफिङ गरेका थिए । दाहालले बैठकमा भनेका थिए,‘एमसीसी परिमार्जनसहित पारित गर्छौं । तर, यसमा हामी घनिभूत छलफल गरेर अघि बढ्छौं ।’ दाहालको भनाई सकिनेबित्तिकै स्थायी कमिटी सदस्य डा. भीम रावलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै आफ्नो मत जाहेर गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्