काठमाडौं, १८ असोज । नेपालले कोरोना भाइरसको कुल संक्रमित संख्यामा चीनलाई उछिनेको छ । विश्वमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको चीनको भन्दा नेपालमा संक्रमित संख्या आजको मितिसम्म १३ सय ७३ ले बढी छ ।
विश्वको सर्वाधिक जनसंख्या रहेको चीनको भन्दा नेपालमा कोरोना संक्रमित संख्या बढी हुनुले जोखिम बढी रहेको देखाउँछ ।
कोरोनाबाट मृतकको संख्यामा भने चीन नेपालभन्दा निकै अघि छ । नेपालमा ५ सय ३५ जनाको कोरोना संक्रमणबाट निधन हुँदा चीनमा ४ हजार ६ सय ३४ को मृत्यु भइसकेको छ ।
सन् २०१९ को डिसेम्बरको अन्ततिर चीनको वुआन शहरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो । चीनले उक्त शहरमा केही महिना लकडाउन समेत गरेको थियो । चीनले संक्रमणलाई नियन्त्रणमा लिएको बताउँदै आएको छ ।