Logo

यूरोपमा कोरोना महामारीको दोस्रो लहर झन् भयावह, फ्रान्स र जर्मनीद्वारा लकडाउन



एजेन्सी, १३ कात्तिक । यूरोपमा कोरोना भाइरसको महामारीको दोस्रो लहर देखिनथालेको छ । यसले हिउँद याममा भयावह रुप लिने खतरा बढाएको छ । महामारी भयावह बन्न थालेपछि फ्रान्स र जर्मनीमा लकडाउन घोषणा भएको छ । दैनिक कोरोना संक्रमित संख्या ह्वात्तै बढ्न थालेपछि यूरोपका शक्तिशाली दुवै देशहरुले लकडाउनको घोषणा गरेका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले शुक्रबारबाट लागू हुने गरी लकडाउनको घोषणा गरेका हुन् । लकडाउन फ्रान्सभर हुनेछ । लकडाउनमा अत्यावश्यक र स्वास्थ्यको कारण मात्र बाहिर निस्कन पाइनेछ । व्यवसाय तथा मनोरञ्जनका लागि घरबाट बाहिर जान पाइनेछैन । तर, विद्यालय र कलकारखाना भने खुल्नेछन् ।

फ्रान्समा एकै दिन ३३ हजार नयाँ संक्रमित पत्ता लागेपछि लकडाउनको घोषणा भएको जनाइएको छ ।

यसअघि जर्मन चान्लसर एन्जेला मार्कलले पनि विशेष घोषणा गरेकी थिइन् । बुधबार उनले आंशिक लकडाउनको घोषणा गरेकी हुन् । २ नोभेम्बरबाट लागू हुनेगरी आंशिक लकडाउनमा १६ प्रकारका नियम लगाएको छ ।

स्कुल र किन्डरगार्टेन्स खुल्नेछन्, अधिकतम दुई परिवारका गरी १० जनाभन्दा बढी भेला हुन पाइनेछैन, बार र रेष्टुरेन्टमा सिमित उपस्थिति हुन दिइनेछ, मसाज र टाटु पार्लर बन्द गरिनेछ ।

यसैगरी, यूरोपको अर्को शक्तिशाली मुलुक बेलायतमा पनि कोरोना महामारी बढेको छ । एक अध्ययनले बेलायतमा दैनिक एक लाख नयाँ संक्रमित थपिन थालेको देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्