काठमाडौं, कार्तिक २५ । परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । वर्तमान सरकारले सङ्घीयता कार्यान्वयनका संरचना र कानुन निर्माणलाई प्राथमिकतासमेत दिएको भन्दै मन्त्री ज्ञवालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यथार्थबाट कोही पछि हट्न नसक्ने बताएका हुन् ।
हालै सरकारले एकरूपताका लागि गरिने पत्राचारका लागि नेपालको नाम लगायत केही शब्दावली संशोधन गरेको विषयमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा उनले जस्केलाबाट राजनीतिक प्रणाली नफेरिने बताए। अङ्ग्रेजी र नेपाली अनुवादलाई एकरूपता बनाउन भन्दै सरकारले असोज ११ गतेको मन्त्रिपरिषद्बाट उक्त निर्णय गरेको थियो ।
समितिमा मन्त्री ज्ञवालीले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनबारे सरकारमाथि आशङ्का गरिएको भए यो गलत हो । यो सरकारले सङ्घीयता कार्यान्वयनका लागि संरचना र कानुन बनाइरहेको छ । व्यक्तिगत नीतिमा, बहसमा कसैले गणतन्त्रबारे आफ्ना व्यक्तिगत टिप्पणी गर्न सक्छ । यथार्थबाट पछि हट्न सकिन्न र मिल्दैन । जस्केलाबाट राजनीतिक प्रणाली फेरिन्न । सरकार यो चाहन्न ।”
सरकारले गरेको निर्णय एकरूपताको हदसम्म मात्र भएकाले राज्यको चरित्र र नामबारे फरक बुझ्न सांसदहरूलाई उनले आग्रहसमेत गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।