Logo

प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थपियो



काठमाडौं, ४ मंसिर । नेपाल प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थपिएको छ । सरकारले मन्त्रिपरिषद्बाट दरबन्दी थप्ने निर्णय गरेसँगै गृह मन्त्रालयले एक एआइजी र पाँचजना डिआइजीको दरबन्दी थपेको हो ।

दरबन्दी थपिएपछि नेपाल प्रहरीमा पाँचजना एआइजी र १९ जना डिआइजी रहने व्यवस्था भएको छ । एक एआइजीको मात्र दरबन्दी थपिएपछि कसलाई बढुवा गर्न खोजियो भन्नेबारे चासो बढेको छ ।

नेपाल प्रहरीमा विश्वराज पोखरेललाई एआइजी बढुवा गर्ने प्रयास विगत देखि नै हुँदै आएको छ । यसपटक उनलाई बढुवा गरेर हालका आइजीपी शैलेश थापा क्षेत्रीपछिको आइजीपी सुनिश्चित गर्ने तयारी भएको छ ।

पाँच डिआइजीको दरबन्दी बढेपछि वरिष्ठतम एसएसपीहरु बढुवाको दौडमा छन् । यसअघिको बढुवामा छुटेकाहरु पनि प्रतिष्पर्धी बनेका छन् ।

विगतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै एआइजी र डिआइजीको दरबन्दी घटाएर तीन र १४ मा सिमित राखेको थियो । प्रहरीभित्र यसप्रति व्यापक असन्तुष्टि थियो । विगतमा ११ जना एआइजीको दरबन्दी थियो । डिआइजीहरु तीन दर्जनको दरबन्दी थिए ।



प्रतिक्रिया दिनुहोस्