Logo

मानव शरीरमा अक्सिजन देखि सुनसम्म



मधुमाया कार्कीः प्रकृतीमा ९२ तत्वहरु छन् । ती मध्ये मानिसको शरीरमा करिब ६० तत्वहरु पाइन्छन् । पेरियोडिक तालिकामा भएका रासायकि तत्वहरु जस्तैअक्सिजन, हाइड्रोजन, कार्बन, नाइट्रोजन, म्याग्नेसियम, क्लोरिन, फ्लोरिन, क्याल्सियम, फोस्फोरस, पोटासियम, सोडियम, सल्फर, आइरन, जिंक, र सुन तथा तामा पनि पाइन्छ ।

मुख्यतः अक्सिजन, कार्बन, हाइड्रोजन, नाइट्रोजन यी चारओटा तत्वहरु मानिसको शरीरमा ९६ प्रतिशत पाइन्छ । बाँकी ४ प्रतिशतमा अन्य तत्वहरु पाइन्छन् । यी तत्वहरु शरीरमा धेरै कम मात्रामा पाइन्छन् । यी तत्वहरुले हाम्रो शरीरमा हाडहरु बनाउने, कोषको आकार बनाउने, पि.एच को मात्रा नियन्त्रण गर्ने, रासयनीक प्रतिक्रिया गर्ने जस्ता छुट्टाछुट्टै कार्यहरु गर्दछन् । जसमध्ये यहाँ केही तत्वहरुको बारेमा जानकारी दिइएको छ ।

कुन रसायनिक तत्व कति पाइन्छ ?

अक्सिजनः अक्सिजन मानिसको शरीरको तौलको ६५ प्रतिशत पाइन्छ । सबै जीवजन्तुलाई श्वासप्रश्वासको लागी अक्सिजन आवश्यक पर्छ । मानिसको दिमागलाई जैविक कार्य गर्नका लागि अक्सिजनको जरुरत पर्छ । यदि अक्सिजन भएन भने मानिस केही सकेण्डमै मर्छ । स्वच्छ हावा तथा पानीमा अक्सिजन पाइन्छ ।
कार्बनः कार्बन शरीरको तौलको १८ प्रतिशत पाइन्छ । यसले शरीरमा कार्बोहाइड्रेट्स, प्रोटिन बनाउँछ जो टुक्रिएर शरीरमा शक्ति उत्पादन गर्छ । कार्बन सबै प्रकारका खाना तथा पानीमा पाइन्छ ।

हाइड्रोजनः हाइड्रोजन शरीरको तौलको १० प्रतिशत पाइन्छ । खासगरी यो डि.एन.ए मा पानीको माध्यमबाट गएको हुन्छ । डि.एन.ए लाई स्वस्थ राख्न र रोगहरुबाट बच्नको लागि एक दिनमा दुई देखी तीन लिटरसम्म पानी पिउनुपर्छ ।

नाइट्रोजनः नाइट्रोजन शरीरको तौलको ३ प्रतिशत पाइन्छ । जीवकोषको प्रोटोप्लाज्मामा भेटिन्छ । यसले शरीरमा एमिनो एसिड बनाउछ । एमिनो एसिडबाट प्रोटिन र डि.एन.ए निर्माण हुन्छ । नाइट्रोजन माछामासू, केराउ तथा सोयाबिनमा पाइन्छ ।

क्याल्सियमः क्याल्सियम शरीरको तौलको १.५ प्रतिशत पाइन्छ । प्रायः दाँत र हाडहरुमा भेटिन्छ । यसले हाड बलियो बनाउँछ । क्याल्सियम हरियो तरकारी, दुधबाट बनेका परिकार र माछामा पाइन्छ ।

फोस्फोरसः फोस्फोरस शरीरको तौलको १ प्रतिशत पाइन्छ । यो अस्थिपन्जर र दिमागमा फोस्फेटको रुपमा भेटिन्छ । फोस्फेट ए.टि.पी इनर्जीको यौगीकमा पाइन्छ जसले ७.३ किलो क्यालोरी इनर्जी उत्पादन गर्छ । फोस्फोरस मासुु, चिज र ब्रेडमा पाइन्छ ।

पोटासियमः पोटासियम शरीरको तौलको ०.३५ प्रतिशत पाइन्छ । यो रातो रक्तकेशीकाहरुमा, त्यसपछि मांसपेशीमा र स्नायू तन्तुमा भेटिन्छ । यसले सुचना आदानप्रदानमा मद्दत गर्छ, मुटुको धड्कन नियन्त्रण गर्छ, ब्लड सुगर घटाउँछ । पोटासियम पात खाने तरकारी, केरा, फलफुलमा पाइन्छ ।

सोडियमः सोडियम शरीरको तौलको ०.१५ प्रतिशत पाइन्छ । यो स्नायू तन्तुमा भेटिन्छ । यसले विद्युतिय सुचना स्नायुसम्म पुर्याउने काम गर्छ र पानीको मात्रा नियन्त्रण गर्छ । सोडियम सुप र ब्रेडमा पाइन्छ ।

क्लोरिनः क्लोरिन शरीरको तौलको ०.१५ प्रतिशत पाइन्छ । यो नेगेटिभ आयोनका रुपमा भेटिन्छ, जसलाइ क्लोराइड भनिन्छ । यसले शरीरमा तरल पदार्थलाइ नियन्त्रण गर्छ । क्लोरिन टमाटर, सलाद र तेलमा पाइन्छ ।

म्याग्नेसियमः म्याग्नेसियम शरीरको तौलको ०.०५ प्रतिशत पाइन्छ । यसले शरीरमा मांसपेशी र अस्थिपन्जरको आकृती बनाउन मद्दतगर्छ । म्याग्नेसियम हरियो सागपात, केरा र टुना माछामा पाइन्छ ।

आइरनः आइरन शरीरमा ४.८ ग्राम पाइन्छ । यो हेमोग्लोबिनमा भेटिन्छ । यसले अक्सिजनलाई रातो रक्तकोषसम्म पुर्याउने काम गर्छ । आइरन माछामासु, अण्डा, र सबै अन्नहरुमा पाइन्छ ।

फ्लोरिनः फ्लोरिन शरीरमा ३ ग्राम पाइन्छ । यो दाँत र हाडहरुमा भेटिन्छ । यसले दाँतलाइ बलियो बनाउछ । फ्लोरिन माछा र चियामा पाइन्छ ।

जिंकः जिंक शरीरमा २.६ ग्राम पाइन्छ । यो हाम्रो शरीरमा पाइने प्रोटिनमा भेटिन्छ । यसले जिनको नियमन गर्छ । जिंक मासुका परिकार, दुध, खाद्यान्नहरुमा पाइन्छ ।
स्ट्रोन्टियमः स्ट्रोन्टियम शरीरमा ०.३७ ग्राम पाइन्छ । यो हाडहरुमा भेटिन्छ । यसले हाडको विकासमा मद्दत गर्छ । स्ट्रोन्टियम समुन्द्रको पानी, दुध, मासु र माटो भित्र पाइने तरकारीहरुमा पाइन्छ ।

आयोडिनः आयोडिन शरीरमा ०.०१२८ ग्राम पाइन्छ । यो थाइराइड ग्रन्थीमा भेटिन्छ । यसले थाइरोक्सिन हर्मोन उत्पादन गर्छ । आयोडिन दुध, दही, सेतो माछा र समुन्द्री शैवालमा पाइन्छ ।

म्याङ्गानिजः म्याङ्गानिज शरीरमा ०.०१३६ ग्राम पाइन्छ । यो माइट्रोकोन्ड्रियामा भेटिन्छ । यसले केही इन्जाइम बनाउन मद्दत गर्छ । म्याङ्गानिज खासगरी हरियो तरकारीमा पाइन्छ ।

मलिब्डेनमः मलिब्डेनम शरीरमा ०.०१०४ ग्राम पाइन्छ । यसले शरीरमा सल्फर र नाइट्रोजनलाई उपयोगात्मक पदार्थमा परिणत गर्छ । मलिब्डेनम खाद्यान्न, ब्रेड र अफलमा पाइन्छ ।

तामाः तामा शरीरमा ०.०८ ग्राम पाइन्छ । यसले शरीरमा हुने धेरै जैविक प्रतिक्रियामा इलेक्ट्रोन दिन्छ । यदि शरीरमा तामा भएन भने आइरनले कुनै काम गर्न सक्दैन । तामा खाद्यान्न, शंख, अफल र ब्रेडमा पाइन्छ ।

सल्फरः सल्फर शरीरको तौलको ०.२५ प्रतिशत पाइन्छ । यसले प्रोटिनको कार्यमा मद्दत गर्छ । यसले शरीरमा पानीको मात्रालाई नियन्त्रण गर्छ । सल्फर अण्डा, मासू, लसुन, प्याज तथा तरकारीहरुमा पाइन्छ ।

सुनः सुन शरीरमा ०.२ मिलिग्राम पाइन्छ । यो रगतमा भेटिन्छ । यसले शरीरका जोर्नीहरुको सुरक्षा गर्छ र शरीरबाहिर विद्युतीय सुचना सञ्चार गर्छ । सुन अण्डा र केकमा पाइन्छ ।

हाम्रो शरीर स्वस्थ, तन्दुरस्त राख्नको लागी यी सबै तत्वहरु पाइने खाना सन्तुलित रुपले खानुपर्छ । यदि शरीरमा यी तत्वहरुको कमी वा बढी भएमा विभिन्न किसिमका क्षणीक अथवा दीर्घकालीन रोगहरुले आक्रमण गर्दछ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्