Logo

सहरी पूर्वाधार विकास बैङ्क स्थापनाको तयारी



काठमाडौं, पुस ४ । सबै नगरपालिकाको सहरी सौन्दर्य कायम गर्दै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सहरी पूर्वाधार विकास बैङ्क स्थापना गरिने भएको छ ।
नगरपालिकाको आवश्यकता र औचित्यका आधारमा पूर्वाधार पहिचान गरी व्यवस्थित सहर निर्माण गर्न पूर्वाधार विकास बैङ्क स्थापना गर्न लागिएको र त्यसको तयारी सुरु भएको जनाइएको छ ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सहरी, खानेपानी सहरी सडक, रङ्गशाला, सपिङ मल, सभा सम्मेलन हल, विश्वविद्यालय, फोहोरमैला व्यवस्थापन, यातायात सञ्चालन, प्रदूषण नियन्त्रण, शान्ति सुरक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पर्यटन विकास, प्रविधि निर्माणका लागि बैङ्क स्थापना गर्न लागिएको बताए ।

नेपाल नगरपालिका सङ्घको समन्वयमा विश्व बैङ्क, एसियाली विकास बैङ्क र नेपाल नगरपालिका कोष जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय दातृ निकायको लगानी सम्मेलन गरी नेपालका २९३ वटै नगरपालिकाको आवश्यकताका आधारमा विकास गर्न पूर्वाधार विकास बैङ्क स्थापना गर्न लागिएको हो ।

सहरी पूर्वाधार विकास बैङ्क निर्माणका लागि नेपाल नगरपालिका सङ्घले प्रारम्भिक गृहकार्य गरेको छ । बैङ्क स्थापनामा सरकारले समेत आवश्यक सहयोग र समन्वय गर्नुपर्ने सङ्घले जनाएको छ । त्यस्तै पूर्वधार निर्माण, खानेपानी व्यवस्थापन, नदी खोला संरक्षण, करिडोर निर्माणलगायत समावेश गरी सहरी पूर्वाधार विकास बैङ्क स्थापना गरिने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्