Logo

स्थायी कमिटी लिएर प्रचण्डले निर्वाचन आयोगमा बुझाएको २९७ को हस्ताक्षर



काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड पक्षका अध्यक्ष पुष्पकमल दाहाल आज आफ्नो पक्षका हस्ती नेताहरु बोकेर निर्वाचन आयोग पुगे । विहानै जुलुससहित निर्वाचन आयोग पुग्नुअघि माइतीघर मण्डलामा केही समय धर्नामा बसे । धर्नामा अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालका अलावा स्थायी कमिटीका सदस्यहरु समेत उपस्थित थिए ।

प्रचण्डले हस्ताक्षर बुझाउँदा नेपाल, खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठका अलावा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, घनश्याम भुसाल, मातृका यादव, देवेन्द्र पौडेल, पम्फ भुसाल, वेदुराम भुसाल, लिलामणि पोखरेल, युवराज ज्ञवालीलगायत पनि पुगेका थिए ।

प्रचण्डले नेकपाको निर्वाचन आयोगमा दर्ता भएका ४ सय ४१ केन्द्रीय सदस्य मध्ये २ सय ९७ जनाको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । यसैलाई आफ्नो पक्ष आधिकारिक भएको दाबी समेत प्रचण्डले गरे । उनले हस्ताक्षरसहितको पत्र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाए ।

नेकपाको मौजुदा केन्द्रीय सदस्य ४ सय ४७ छ । तर, निर्वाचन आयोगमा ४४१ जनाको नाम दर्ता छ । आज प्रचण्ड पक्षले हस्ताक्षर बुझाएकोलाई मान्दा केपी शर्मा ओली पक्षको नेकपामा १४४ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्