Logo

प्रतिनिधिसभा विघटन प्रकरणः कांग्रेसले फैसला कुर्ने



काठमाडौं, पुस ११ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा नजाने भएको छ। यो पार्टी सर्वोच्च अदालतको फैसलाअनुसार अगाडि बढ्ने अवस्थामा देखिएको छ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेकाले पुनःस्थापनाको मुद्दा लिएर सडक आन्दोलनमा जान नहुनेमा जोड दिएका छन्। कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध भने प्रदर्शन गर्ने निर्णय गरिसकेको छ।

सभापति शेरबहादुर देउवाले पुनःस्थापनाको मुद्दा उठाएर सडकमा जान नसकिने स्पष्ट पारेका छन्। शुक्रबारको बैठकलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर निर्णय गरिसकेकाले पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा जानुपर्ने बताएका थिए। त्यसको जवाफमा सभापति देउवाले तत्काल त्यो सम्भव नरहेको बताएका हुन्।

पौडेलले झारा टार्न मात्रै सरकारको विरोध गर्न खोजिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए। सभापति देउवाले भने सर्वोच्च अदालतमा विचाराधीन विषयलाई लिएर सडक आन्दोलनमा जान नसकिने बताए। ‘सर्वोच्चमा मुद्दा चलिरहेको छ, अहिले सडकमा संसद् पुनःस्थापनाको मुद्दा लिएर जान सकिँदैन’, उनले भने, ‘सर्वोच्चको फैसला कुर्नुपर्छ।’

सर्वोच्चले सरकारको कदम उल्टाए स्वागत गर्ने तर सरकारको पक्षमा फैसला आए मध्यावधि निर्वाचनको तयारीमा जुट्ने सोच देउवाको रहेको उनीनिकट नेता बताउँछन्। सोहीअनुसार देउवाले पुनःस्थापनाको मुद्दा लिएर सडकमा जान नसकिने अडान राख्दै आएका छन्। देउवानिकट नेताहरूले पनि बैठकमा पुनःस्थापनाको एजेन्डा लिएर सडक आन्दोलनमा जान नहुने धारणा व्यक्त गर्दै आएका छन्।

देउवा सर्वोच्चको फैसला नआएसम्म सरकारको कदमविरुद्ध सडकमा जाने पक्षमा पनि थिएनन्। तर, वरिष्ठ नेता पौडेललगायतको दबाबपछि बैठकले एक दिनका लागि भए पनि विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा सरकारको कदमविरुद्ध प्रदर्शन गर्दै छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्