काठमाडौं, १८ पुस । गृहमन्त्री तथा ओली समूहका सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर सही कदम चालेको र उक्त कदम निकै साहसिक भएको स्पष्ट पारेका छन् । आज (शनिबार) नेकपा काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको बृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले यस्तो बताएका हुन् । उनले संसदमा बहुमत बनाएर अविश्वासको प्रस्ताव दर्ता गरी राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्रीले संसद विघटन गरेको जिकिर गरे । उनले भने,‘संसद जहाँ नेकपाको दुई तिहाइ मत छ। स्थिरताको संयन्त्र थियो। अस्थिरताको संयन्त्रमा परिणत गरी आफ्नै नेतृत्वलाई विस्थापित गर्ने भएपछि उहाँले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गर्नुभयो, यो संवैधानिक भन्दा पनि राजनीतिक हो। राजनीतिक ‘कू’ र प्रतिगमनलाई रोक्ने साहसिक कदम हो।’
मन्त्री थापाले नेकपामा विग्रह आउनुको कारण सत्ता लोलुपता नै मुख्य कारण भएको आरोप लगाए । ओलीविरुद्ध प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव प्रस्ताव नभएर आरोपपत्र नै भएको पनि उनको भनाई छ ।उनले भने,‘कमरेडहरूले पार्टीको अध्यक्षलाई कमरेडको रुपमा नभएर अपराधीको हदसम्म लगेर काबाहीको हकसम्म लग्नुभयो । उहाँलाई देशको एउटा प्रमुखलाई नेताको रुपमा हैन। अपराधीको रुपमा खडा गर्नुभयो। प्रधानमन्त्रीबाट हटाउने योजना बनाउनुभयो।’ उनले जनतासामू जानु लोकतान्त्रिक कदम भएकोले प्रतिगामीहरुलाई चुनावमार्फत नै पराजित गरिने पनि दाबी गरे । Photo By: Mukunda Kalikote/ReportersNepal