सप्तरी, २३ पुस: लागुऔषध खैरो हेरोइन (ब्राउनसुगर)सहित पक्राउ परेका युवक बुधबार थुनामा परेका छन् । जिल्ला अदालतको आदेशले तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा सुतिहार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित सुतिहार र उनका भाइलाई गत कात्तिक १ गते पक्राउ गरेको थियो । आरोपितका भाइ (काकाका छोरा) १७ वर्षीय बालक भएकाले उनलाई निजको बुवाको जमानीमा छाडिएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स७प १८६५ नंको मोटरसाइकलमा महादेवा गाउँबाट महुलीतर्फ जाँदै गरेको उनीहरुलाई पक्राउ गरेको थियो । प्रनाउ सिंहका अनुसार खैरो हेरोइन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन् । मोटरसाइकल पछाडि सवार भरत शर्माको साथबाट १० ग्रामको दरले बनाएको पाँच पोका खैरो हेरोइन बरामद भएको थियो ।
आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको बताए । भरत शर्माले लगाएको पाइन्टको गोजीमा प्लास्टिकभित्र प्याक गरेर राखेको अवस्थामा खैरो हेरोइन बरामद भएको प्रनाउ सिंहको भनाइ छ । उनीहरुविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाइएको छ ।-रासस/File Photo