Logo

विप्लवसहित चार कम्युनिस्ट घटकको रणनीतिक मोर्चाको घोषणा हुँदै



काठमाडौं, २९ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट घटकले आज संयुक्त रणनैतिक मोर्चाको घोषणा गर्दैछन् । आज राजधानीको प्रज्ञा भवनमा कार्यक्रम गरेर उनीहरुले रणनैतिक संयुक्त मोर्चाको घोषणा गर्न लागेका हुन् । उनीहरुले आन्दोलनको घोषणा समेत गर्न लागेका छन् ।

मोर्चामा विप्लव नेतृत्वको पार्टीसहित मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सहभागी छन् । उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देशयका साथ रणनैतिक मोर्चा बनाएका हुन् ।

भूमिगत रुपमा रहेका विप्लव वर्तमान सरकारप्रति आक्रामक बन्दै जाँदा अन्य चार कम्युनिस्ट घटकसँग रणनैतिक मोर्चा बनाएर सडकमा आउन लाग्नुलाई अर्थपूर्ण मानिएको छ । विप्लव समूह हिंसात्मक गतिविधिमा समेत संलग्न हुँदै आएको छ । उसका कार्यकर्ता सुरक्षाकर्मीबाट मारिएको तथ्यांक छ । विप्लव समूहबाट पनि हत्याका घटनाहरु भएका छन् ।

यसअघि १४ पौषमा प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका थिए । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्