काठमाडौं, चैत १०। नेपाल उद्योग वाणिज्य महासंघले सन् २०३० सम्म मुलुकको अर्थतन्त्र १ सय खर्ब बनाउने योजनाअन्तर्गत स्टार्टअप व्यवसायीलाई आवश्यक लगानी जुटाउन सहजीकरण गर्ने भएको छ । महासंघले स्टार्टअप र नवीनतम उद्योग समिति गठन गरेर उक्त समितिअन्तर्गत ५० स्टार्टअपलाई व्यवसायीसँग सहकार्य गराउन सहजीकरण गर्न लागेको हो ।
महासंघले सोमवार पत्रकार सम्मेलन गर्दै समितिले ५० लगानीकर्ता जुटाइसकेको जानकारी दिएको हो । यद्यपि, लगानीकर्ताको जानकारी भने महासंघले सार्वजनिक गरेको छैन ।
समितिले अप्रिल पहिलो साता यसका लागि आवेदन खुला गर्नेछ । उक्त समितिका अध्यक्ष रञ्जितराज आचार्यका अनुसार आवेदकमध्येबाट महासंघले बनाएको मापदण्डअन्तर्गत दोस्रो साता प्रथम चरणको सूची सार्वजनिक गरी त्यसको २ महीनामा अन्तरवार्ता लिई अन्तिम सूची निकालिनेछ ।
अन्तिम चरणमा छानिएका व्यवसायीलाई ३ महीना परामर्श गरी लगानीकर्तामाझ लगिने उनले बताए । ‘लगानीकर्ता र व्यवसायीबीच एक कार्यक्रम गरी लगानीकर्ताले मन पराएका व्यवसाय छनोट गर्नेछन् र तिनमा आवश्यकताअनुसार लगानी गर्नेछन्,’ उनले भने, ‘यस्तो लगानी लगानीकर्ताले कम्तीमा एउटा व्यवसायमा गर्नैपर्ने सम्झौता भएको छ ।’
मुलुकभित्रै उद्यमशीलता विकास, रोजगारी सृजना गरी अर्थतन्त्रको आकार ठूलो बनाउन यस कार्यक्रमले मद्दत पुग्ने दाबी उनको छ ।महासंघले आगामी २ वर्षभित्र गर्ने कामहरूको मार्गचित्र (भिजन पेपर) अन्तर्गत राखेको छ । मार्गचित्र आगामी चैत २८ गते सार्वजनिक गर्ने महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।
आफ्नो कार्यकालमा ८ लाख रोजगारी सृजना गर्ने योजना बनाएको बताउँदै उनले यसले रोजगारी सृजनासहित स्टार्टअपरउद्योग व्यवसायका बारेमा अध्ययन गर्ने, मुलुकभित्र नवीनतम सोचसहितको उद्यमशीलता प्रवद्र्धन गर्न उद्योग मन्त्रालयअन्तर्गत लगानी प्रवद्र्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयाँ सोचसहित केही गर्न अघि सरेका नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढन आवश्यक पूँजी लगानी स्वरूप जुटाई सहयोग गर्नेलगायत महत्त्वपूर्ण कार्यहरू गर्ने उनले बताए । आर्थिक अभियान दैनिकबाट