Logo

एफएनसिसिआईको १० वर्षे भिजनः एक सय आठ अर्ब डलर लगानी गर्ने



काठमाडौं, चैत २९ । सरकारले नीतिगत सुधार गरी लगानीको उपयुक्त वातावरण बनाए आगामी १० वर्षमा एक सय आठ अर्ब डलर लगानी गर्ने घोषणा निजी क्षेत्रले गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले शनिबार १० वर्षे भिजन–पेपर सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। ‘आगामी १० वर्षमा एक सय ५० अर्ब डलरभन्दा बढी लगानी गर्नुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘त्यसमा निजी क्षेत्रको एक सय आठ अर्ब लगानी हुनेछ।’

महासंघले ५५औं वार्षिक साधारणसभाको अवसरमा सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक रूपान्तरण २०३०’ भिजन–पेपरमा खुला अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बढाउने उल्लेख छ। महासंघले लगानीका लागि १० वटा प्राथमिकता तय गरेर एक सय योजना अघि सारेको छ। भिजन–पेपरमा अबको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित तथ्य प्रस्तुत छ।

सन् २०३० सम्म एक सय अर्ब डलरको अर्थतन्त्र पु¥याउने लक्ष्यसहित निजी क्षेत्रले काम सुरु गरेको गोल्छाले बताए। ‘अहिले मुलुकको अर्थतन्त्रको आकार करिब ३४ अर्ब डलर छ,’ गोल्छाले भने, ‘अबको १० वर्षमा अर्थतन्त्रको आकार ६६ अर्ब बढाएर एक सय अर्ब डलर पु¥याउछौं।’ महासंघले अघि सारेका १० प्राथमिकतामा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान, सुविधाजनक र प्रतिस्पर्धी व्यावसायिक वातावरण, लगानी प्रोत्साहन, नीतिगत सुधार, पूर्वाधार विकास, अन्तर्राष्ट्रिय व्यापार, मानव पुँजी व्यवस्थापन तथा पुँजीको विकास, जिम्मेवार निजी क्षेत्रलगायत छन्।

निजी क्षेत्रको विस्तारका लागि भिजन पेपर बनाएकाले यसमा सघाउन गोल्छाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे। ‘सरकारको सहकार्य आवश्यक छ,’ उनले भने, ‘अर्थतन्त्रको सुदृढ गर्ने दायित्व सबैको हो।’ महासंघले तयार गरेका एक सय योजनामा ४० वटा दुई÷तीन वर्षमै पूरा हुने दाबी उनले गरे। कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्र संकुचनमा गएको भए पनि छिट्टै दोहोरो अंकको आर्थिक वृद्धिदर गर्ने योजनासहित काम अघि बढाउने उनले बताए। १० वर्षमा २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्