काठमाडौं, ४ वैशाख । डाकिएको थियो कोरोना भाइरसको जोखिम रोकथामका लागि चाल्ने कदमबारे परामर्श गर्न तर छलफलको विषय बढी राजनीतिक नै भयो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल बढी केन्द्रित भएको थियो ।
एमसीसी संसदमा निर्णयार्थ पेश होस् भन्ने प्रधानमन्त्रीको ओलीको चाहना थियो । उनले सभामुख अग्निप्रसाद सापकोटालाई केही दिनअघि भेटेर एमसीसीलाई संसदमा निर्णयार्थ अगाडि बढाउन आग्रह समेत गरेका थिए । तर, सापकोटाले अड्काएर राखेको ओलीको आरोप छ । आज डाकेको सर्वदलीय बैठकमा ओलीले सभामुख सापकोटामाथि आक्रोश पोखे ।
एमसीसीलाई ओलीले फेरि राजनीतिक अस्त्रका रुपमा अगाडि सारेको तर्कहरु नभएका होइनन् । नेपाली काँग्रेस नेकपा माओवादी केन्द्रसँग सत्ता समिकरणका लागि तम्सिएपछि ओलीले एमसीसीलाई फेर जोडतोडका साथ उठाएका छन् । एमसीसी पारित गर्ने पक्षमा काँग्रेस पनि देखिएको छ । ओली पनि पक्षमा नै छन् । नेकपा माओवादी केन्द्र भने यसको विपक्षमा देखिन्छ ।
एमसीसीको मुद्दा उठाएर ओलीले देउवालाई प्रचण्डबाट फेरि टाढा बनाउन खोजेका छन् । मुद्दाकै कारण ओली र देउवा मिल्न सक्ने र प्रचण्डसँग नजिकिनबाट रोकिन सक्ने बुझाई ओलीनिकटस्थमा देखिन्छ । त्यसैले एमसीसीमा ओलीले विशेष जोडबल गर्दै आएको विषय नउठेको होइन ।
संसदले एमसीसी पास गर्ने या नगर्ने टुंगो लगाउने अधिकार समेत पाएको जिकिर गर्दै ओलीले त्यसलाई अड्काउन नमिल्ने बताएका थिए । उनले यति भनेपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी मात्र अगाडि बढाउने नभई उपनिवाचन, सभामुखको निर्वाचन जस्ता महत्वपूर्ण कार्य तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।