वैशाख ८, काठमाण्डौ । काठमाडौँको सिनामंगलस्थित सूरिया ल्याबबाट पिसिआर नेगेटिभ आएको रिपोर्ट लिएर त्रिभूवन विमानस्थल पुगेका झण्डै दुई सय जनालाई फर्काइएको छ । सूर्या ल्याबमा परीक्षण गरिएको पिसिआर रिपोर्ट लिएर विभिन्न देश जानका लागि विमानस्थल पुगेका उनीहरुलाई फर्काइएको हो । विदेश यात्राका लागि पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य छ ।
तर सूर्या ल्याबले नमुना नै नलिइ नक्कली रिपोर्ट बेच्ने गरेको खुलासा भएपछि उक्त ल्याबको रिपोर्ट बोकेर यात्रा गर्न खोज्नेलाई फर्काइएको हो । बिमानस्थलबाटै फर्काइएपछि उनीहरुले विरोध जनाएका थिए । तर उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारबाटै स्वीकृति प्राप्त ल्यावमा आफुहरुले परिक्षण गर्दा पनि सरकारले विदेश जान रोकेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् । फिर्ता गराइएकामध्ये कतिपयको पीसीआर रिपोर्ट सही भएको बताइएको छ । तर केही व्यक्तिको रिपोर्ट गलत हुँदा सबैलाई फर्काइएको हो । उनीहरुले अरुले गरेको गल्तिको सजाय आफूहरुलाई नदिन आग्रह गरेका छन् ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले भने सूर्या ल्याबमा छापामा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई रोकेको हो । अधिकांश खाडी मुलुकमा जान लागेकाहरु रोकिएका छन् । कामका लागि विदेश जान लागेकाहरु फर्काइएपछि विचल्लीमा परेको भन्दै दुखेसो गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर रिपोर्ट नै गलत गर्ने काममा संलग्नहरुले नेपालकै बेइजत गरेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले पोजेटिभ रिपोर्टलाई नेगेटिभ बनाउने तथा परिक्षण नै नगरी रिपोर्ट दिने सूरिया हेल्थ केयर प्रालिलगायत अरु त्यस्ता ल्याबको खोजि गरी कडा कारबाही गर्ने बताएका छन् ।
वैदेशिक रोजगार विभागका सुचना अधिकारी महेन्द्रनाथ भट्टराईले अन्य प्रक्रिया सही भए पनि पिसिआर रिपोर्टकका सन्दर्भमा विभाग जिम्मेवार नहुने स्पष्ट पारेका छन् । मंगलवारमात्र महानगरीय अपराध महाशाखाको टोलीले सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रालिमा छापा मार्दा ९ हजार रुपैयाँ तिरेर नक्कली पीसीआर परीक्षण रिपोर्ट बनाउने गरेको खुलेको थियो । चार घण्टामा नै स्वाब नै नै नलिइ नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि ल्याबका सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सबै प्रक्रिया पूरा गरेर विदेश जान लागेहरु विमानस्थलबाटै फर्किनुपर्दा समस्यामा परेका छन् । तर कोरोना भाइरसले महामारीको रुप लिइरहँदा पोजेटिभ भएकाहरुको रिपोर्ट नेगेटिभ बनाएर जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएपछि कारबाही प्रक्रिया अगाडि बढाउनुको विकल्प छैन ।