Logo

कोरोना संक्रमणको दोस्रो लहर : कहाँ के भइरहेको छ ?



वैशाख १३, काठमाण्डौ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले नेपाल संकटतिर जाँदैछ । काठमाण्डौ उपत्यका लगायत देशका अन्य विभिन्न स्थानमा संक्रमण तीब्र गतिमा फैलिइरहेको छ ।

दोस्रो लहरको सबैभन्दा धेरै असर बाँकेमा देखिएको छ । बाँकेस्थित भेरी अञ्चल अस्पतालमा पछिल्लो दिनमा संक्रमितलाई उपचार गराउने सकस परिरहेको छ । १४२ जना कोभिड बिरामी राख्ने क्षमता भएको उक्त अस्पतालमा २०० भन्दा बढी संक्रमित नाघिसकेका छन् । कोरोनाको लागि बाहेक अन्य रोगको उपचारको लागि छुट्याइएका वार्डहरूमा अक्सिजन जडान गरेर संक्रमितको उपचार गरिएको छ ।

वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालअन्तरगतको कोभिड अस्पताल पनि कोरोना संक्रमितले भरिएको छ । २५ शैय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको छ । २८ जनामध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू गरिएको छ । संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको हो । निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ । जिल्लामा मात्रै तीन सय बढी सक्रिय संक्रमित छन् ।

उता लुम्बिनी प्रदेश सरकारले बुटवल, नेपालगंज, दाङ र भैरहवामा अक्सिजन बेड बनाउन त्यहाँ रहेका कोभिड अस्पतालहरुलाई बजेट उपलब्ध गराउने निणर्य गरेको छ ।

कोभिड–१९ का बिरामीको संख्या बढ्न गई अस्पतालमा बेड अभाव भएपछि प्रदेस सरकारले अक्सिजनसहितको बेड बनाउन पहल गरेको हो । सोमबार कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ

त्यसैगरी जिल्ला प्रशासन कार्यालय, कास्कीले पर्सि बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोडबिजोर लागू गरिएको छ । जोर गते जोर नम्बर र विजोर गते बिजोर नम्बरको सवारी चलाउनुपर्नेछ ।

यसैबीच नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन गर्न आग्रह गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो । अस्पतालहरुमा अक्सिजन बेड र एचडीयू थप गर्न पनि संघले आग्रह गरेको छ । त्यस्तै निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्