काठमाडौं, १४ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि रोचक घटनाहरु विकास भएका छन् । फ्लोर क्रसका सम्भावनाहरु विकास भइरहँदा सांसद दिपक मनाङेको समर्थनबारे समेत चासो बढेको छ ।
यसअघि मुख्यमन्त्रीको दाबी गरेका मनाङेले फेरि रोचक निर्णय लिएका छन् । उनले नेकपा फुटिसकेकाले स्वतन्त्र सांसदको हैसियतमा रहेको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न प्रदेश सभामा निवेदन दर्ता गरिसकेका छन् ।
विगतमा नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार बन्न खोज्दा उनलाई स्वतन्त्रकै हैसियतमा साथ दिइएको थियो । मनाङे स्वतन्त्र सांसद हुन् ।
प्रदेश सभामा अविश्वासको प्रस्तावबारे निर्णय हुँदा मनाङेले राष्ट्रिय जनमोर्चाको मत जता आफू उतै जाने निकटस्थहरुलाई बताएका छन् । जनमोर्चाले राष्ट्रियताको सवालमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै मनाङेले उसकै लाइन अनुसार मतको समेत प्रयोग गर्ने खुलाएको स्रोतले बताएको छ ।